समाज

अन्योलमा पर्यटन बजार

सिजनको बुकिङ र सोधपुछ राम्रो छ, तर पाहुना आउने निश्चित छैन: व्यवसायी

पर्यटकीय सहर पोखरा। फाइल तस्बिर: नागरिक

आगामी सेप्टेम्बरदेखि पर्यटकीय सिजन सुरु हुन्छ। कोरोना भाइरस संक्रमणले थला पारेको पर्यटन क्षेत्र बल्ल यतिबेला बामे सर्दै छ। पछिल्लो समय नेपाल भित्रिने विदेशी पर्यटकको संख्या बढिरहेको पर्यटन बोर्डको तथ्यांकले पनि देखाउँछ। त्यसबाहेक पर्यटन क्षेत्रमा सुधारको संकेत दिनेगरी आगामी सिजनका लागि विदेशी पर्यटकको अग्रिम बुकिङ र सोधपुछ आउन थालेको पर्यटन व्यवसायीले नै बताएका छन्।  

अग्रिम बुकिङ, सोधपुछ र मासिक आगमनको तथ्यांक हेर्दा सबैतिर सुधारको संकेत देखिए पनि पर्यटन व्यवसायी स्वयं भने आगामी सिजनसँग उत्तिसारो ढुक्क छैनन्। उनीहरूका अनुसार अहिलेको बुकिङ र सोधपुछ अनुसार पाहुना आउने निश्चित छैन। सिजनको अग्रिम बुकिङ हेर्दा पर्यटन क्षेत्र आशावादी भइसके पनि पाहुना आउने निश्चित भने नभएको उनीहरू नै बताउँछन्। अग्रिम बुकिङ भए पनि पाहुना आगमनको ‘ग्यारेन्टी’ भने नरहेको उनीहरूको भनाइ छ।

सानातिना समस्याले पनि नेपाल भित्रिने पाहुनाको आगमन प्रभावित हुँने हुँदा बुकिङ भए अनुसार पाहुना आउँछन् नै भनेर भन्न नसकिने व्यवसायीको भनाइ छ। पर्ख र हेरको अवस्थामा अझै पनि पर्यटन क्षेत्र रहेको उनीहरूको भनाइ छ। कोरोनापछिको समयको यो बुकिङ र सोधपुछले व्यवसायी केही उत्साही भएको भने व्यवसायी बताउँछन्। आगामी दिनमा कोरोनाको समस्या नथपिने हो भने बुकिङ गरेका पाहुना आउनेमा आशावादी रहेको उनीहरूले बताए।  

व्यवसायीका अनुसार सेप्टेम्बरदेखि नोभेम्बरसम्मको बुकिङको आकार बढिसकेको छ। त्यसले व्यवसायीलाई केही खुसी तुल्याएको छ। बुकिङ मात्र नभई सोधपुछ पनि उत्तिकै छ। कोरोना संक्रमणपछि आन्तरिक पर्यटक र पछिल्लो केही महिना भारतीय पाहुनाको भरमा थेगिएको पर्यटन क्षेत्रले अब तेस्रो मुलुकका पाहुना पाउनेमा आशावादी भए पनि पनि पाहुना आउनेमा अझै ढुक्क हुन नसकेको उनीहरूको भनाइ छ।  

लेकसाइडस्थित माउन्ट कैलाश रिसोर्टका सञ्चालक नरेश भट्टराईका अनुसार आगामी सिजनको बुकिङ सन्तोषजनक छ। बुकिङ आउने क्रम चलिरहेको पनि उनले बताए। सबैखाले स्रोत बजारबाट नेपाल भित्रिने पर्यटकले आगामी सिजनका लागि बुकिङ गरेको भट्टराईले बताए। उनका अनुसार रिसोर्टको आगामी सेप्टेम्बरदेखि नोभेम्बरसम्मको अग्रिम बुकिङको अनुपात ५० प्रतिशत हाराहारीमा पुगिसकेको छ। सेप्टेम्बरभन्दा पनि अक्टोबर र नोभेम्बरका लागि गरेको बुकिङ झनै राम्रो रहेको उनले बताए।  

कोरोनाले गर्दा शून्यमा झरेको पर्यटन क्षेत्रले संक्रमण कमजोर हुनासाथ गति लिएको भन्दै व्यवसायी खुसी छन्। ‘डेढ महिनापछि पर्यटकीय सिजन सुरु हुँदै छ। त्यो बेलासम्म नेपालमा कुनै समस्या नरहने हो भने विदेशी पर्यटक आउनेछन्, त्यसै अनुसार अहिले बुकिङ पनि आइरहेको छ, सोधपुछ पनि उत्तिकै छ,’ उनले भने, ‘कोरोना संक्रमणपछिको यो बुकिङले हामीलाई उत्साहित तुल्याएको छ। तर, पाहुना नआएसम्म ढुक्क हुने अवस्था भने छैन, किनकि नेपालको पर्यटन बजार अनिश्चित बन्दै गएको छ।’

राजनीतिक, सडक पहुँचको सकस र कोरोनाको त्रासका कारण अझै पनि पर्यटन क्षेत्र प्रभावित हुने चिन्ता भने व्यवसायीमा रहिरहेको उनले सुनाए। यदि अवस्था नराम्रो हुँदै गए अहिलेको अग्रिम बुकिङ अनुसार पाहुना आउन नसक्ने भट्टराई बताउँछन्। ‘अहिलेका लागि बुकिङ राम्रो छ। तर, पाहुना आउने निश्चित भने छैन,’ उनले भने, ‘तर, हामी सुखद दिनको पर्खाइमा छौं।’

विभिन्न पाँचवटा चल्तीका होटलको बजारीकरण गरिरहेको एजिज हस्पिटालिटी ग्रुपका निर्देशक किरण तुलाधरले पनि आन्तरिक र भारतीय बाहेक तेस्रो मुलुकका पर्यटक भित्रिनेमा आशावादी रहेको बताए। उनका अनुसार आगामी सिजनका लागि युरोपियन पर्यटकको सोधपुछ निकै नै राम्रो छ। १५/२० प्रतिशत बुकिङ भइसके पनि सोधपुछ भने निकै नै रहेको उनले बताए।  

यो समूहले विभिन्न पाँचवटा होटलको व्यस्वस्थापन हेरिरहेको छ। पोखराको सनसाइन रिसोर्ज र पोखरा च्वाइस इन, लम्जुङको गेटवे हिमालय, भोटेकोसी हेली रिजोर्ट र नवलपुरको मचान कन्ट्री भिल्ला पनि यही समूहले बजारीकरण गरिरहेको छ।  

उनका अनुसार कोरोना संक्रमण सुरु हुुनुुअघि नेपाल घुम्न आउने विदेशी पाहुनाले महिनौंअघि बुकिङ गरिसकेका हुन्थे। कतिपय पर्यटकले ६ महिनाअघि नै बुकिङ गर्थे। तर, त्यो अवस्था अहिले नभए पनि सोधपुछ र चाँसो भने रहेको उनले बताए।  

होटल संघका केन्द्रीय सदस्य भरत पराजुली पनि तेस्रो मुलुकका पाहुना पर्ख र हेरको अवस्थामा रहेको बताउँछन्। भारतीयका लागि भने कुनै समस्या नरहेको उनले बताए। ‘भारतीय पाहुना एक साताको योजना बनाएर घुमघाममा निस्क्छन्। तर, तेस्रो मुलुकका पर्यटकको अवस्था भने अझै अनिश्चित छ,’ पराजुलीले भने, ‘अझै पनि कोरोनाको त्रास छ। त्यसले गर्दा पाहुना आउने दिनसम्मको अवस्था यकिन गर्न सकिन्न।’

प्रकाशित: १ श्रावण २०७९ ०४:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App