समाज

आमाको सपना पछ्याउँदै.....

(१) २०६८ सालमा एसएलसी परीक्षा दिन जाँदै गरेकी आस्था कार्की। (२) २०७५ सालतिर आस्थाकी आमा लक्ष्मी गाजर देखाउँदै। (३) कागेश्वरी मनोहरा ७ स्थित औषधि पसलमा बिरामी जाँच्दै डा. आस्था कार्की। तस्बिर: उपेन्द्र लामिछाने/नागरिक

दृश्य १  

२०६८ सालको वैशाखको एक बिहानीमा कागेश्वरी मनोहरा– ६ स्थित बाल गिताञ्जली विद्यालयमा पुग्दा आस्था कार्की रातो टीका लगाएर एसएलसी परीक्षा दिन जाँदै थिइन्। सुन्दर तस्बिर खिचेलगत्तै भविष्यबारे सोध्दा मुस्कुराउँदै जवाफ दिइन्, ‘म डाक्टर बनेर मानव सेवा गर्ने छु।’  

दृश्य २  

२०७५ सालको कुनै मध्यान्ह मनोहरा फाँटमा तरकारीको तस्बिर खिच्दै गर्दा आस्थाकी आमा लक्ष्मी कार्की गाजर उखेल्दै थिइन्। ‘छोरीलाई डाक्टर पढाउन गाजर खेती थालेको,’ उनले सुनाइन्, ‘ऊ डाक्टर बनेको हेर्ने ठूलो रहर छ।’  

दृश्य ३  

आस्था कार्की आमा लक्ष्मीको सपना पछ्याउँदै भर्खरै डाक्टर बनिन्। तर, अफसोस उनले आफू डाक्टर भएको खुसीको खबर आमालाई सुनाउनै पाइनन्। फिलपिन्समा पढ्दै गरेकी आस्था नेपाल फर्किनुअघि दुर्घटनामा परेर उनकी आमाको निधन भइसकेको थियो।  

२०६८ सालको एसएलसी परीक्षामा सफल भएलगत्तै आस्थाले ११ र १२ कक्षाको पढाइ काठमाडौंमै सकाइन्। छोरीलाई डाक्टरी पढाउने आमा लक्ष्मीको सपना थियो। तर, त्यति ठूलो रकम तिर्न सक्ने क्षमता थिएन। लक्ष्मी मनकी धनी थिइन्। उनले खेती गरेरै भए पनि छोरीलाई डाक्टर बनाउने अठोट लिइन्।

‘छोरीका लागि भनेर लक्ष्मीले एसएलसीअघिदेखि नै खेतीमा विशेष जोड दिएको आस्थाका बुबा श्रीकृष्णले सुनाए। ‘केही जमिन भाडामा लिएर थप गाजर खेती गर्‍यौं,’ कार्कीले भने, ‘लक्ष्मी दिनरात खेतमा खटिन्थिन्।’ लक्ष्मीले सानोदेखि नै छोरीलाई डाक्टर बनाउने सपना पालेको कार्कीले सुनाए।

‘आमाले गाजर बेचेर पढाउनुभयो। आमाको सपना पूरा गरेर डाक्टर बन्दा सबैभन्दा बढी खुसी मेरी आमा  हुनुहुन्थ्यो होला,’ आस्थाले भनिन्, ‘म डाक्टर बन्दै गर्दा आमाले दुर्घटनामा जीवन गुमाउनुभयो। अहिले अस्पतालमा आएका सबैमा आमा देख्ने गरेकी छु। अब म आमाहरूलाई बचाउने छु।’ : डा आस्था कार्की  

चार वर्षअघि फोटो खिच्ने क्रममा पनि लक्ष्मीले छोरीलाई डाक्टर बनाउने सपना सुनाएकी थिइन्। ‘ऊ सानै छँदा हामी डाक्टर बन्नुपर्छ नानी भनेर हौस्याउँथ्यौं,’ लक्ष्मीले त्यतिबेला भनेकी थिइन्, ‘अहिले उसले डाक्टरी पढ्छु भन्दा हामी कसरी पछाडि हट्थ्यौं।’ त्यतिबेला गाजर खेतीबाट वार्षिक ५ लाखसम्म आम्दानी हुने गरेको उनले सुनाएकी थिइन्।

गाजरको आम्दानीमा अन्य केही रकम मिलाएर छोरीलाई डाक्टरी पढ्न फिलपिन्स पठाएको श्रीकृष्णले सुनाए। ‘उता छोरीले मन लगाएर पढ्न थालिन्,’ कार्की भन्छन्, ‘यता आमा दिनरात खेतमा खट्थिन्।’ खेतीको कमाइले नपुग्दा पनि छोरीको पढाइमा कुनै सम्झौता नगरेको उनले बताए। ‘हामीले ६ रोपनी जमिनमा गाजर रोपेर दिनरात मिहिनेत गर्‍यौं,’ कार्की भन्छन्, ‘छोरीको किस्ता तिर्न लक्ष्मीले रहरको गहना समेत बेचिन्।’

छोरीलाई विदेश पठाएलगत्तै लक्ष्मीले छोरी डाक्टर भएको कल्पना गर्ने गरेको कार्कीले सुनाए। ‘ऊ विदेशमा पढ्दै थिई, खेतमा गाजरसँगै सपनाहरू हुर्कन्थे,’ कार्की थप्छन्, ‘आस्थाको प्रत्येक सेमेस्टरका नतिजा लक्ष्मी खुब चासो मानेर सुन्थिन्।’ छोरीसँगको कुराकानीमा आमाले सधैं उत्साह बढाउने गरेकी कार्कीले सुनाए।

‘छोरीले उताबाट स्वास्थ्यको ख्याल राख्नु है भनेर सम्झाउँदा ‘नेपाल आएपछि तंैले उपचार गरिहाल्छेस् नि भन्थी,’ कार्कीले विगत कोट्याए, ‘तर...।’

फिलपिन्समा पढ्दै गरेकी आस्थाले फाइनल परीक्षा चल्दै गर्दा २०७७ जेठ ३१ गते आमाको मृत्युको खबर सुनिन्। ‘आमाको सपना पूरा गर्ने क्रममा आमाको मृत्युले म झन्डै टुटेकी थिएँ,’ आस्थाले भनिन्, ‘मुटुमाथि ढुंगा राखी हाँस्नुपर्‍या छ’ भन्ने गीत सम्झिँदै आमाको सपना पूरा गर्न फाइनल परीक्षा दिएँ।’

आस्था परीक्षामा सफल भइन्। केही समय उतै इन्टर्न गरेपछि नेपाल फर्किन्। मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण गरेपछि अहिले उनी निजी स्वास्थ्य संस्थामा कार्यरत छिन्।

डाक्टरको ड्रेस लगाएर तस्बिर खिचाउँदै आमाको निकै सम्झना आएको उनले सुनाइन्। ‘मलाई यो पहिरनमा हेर्दा जो धेरै खुसी हुनुहुन्थ्यो, अहिले उहाँ नै हुनुहुन्न,’ उनले भनिन्, ‘आमा सम्झिँदा आँखा आँसुले भरिन्छ।’

काम गर्न थालेपछि मन अलिकति बहलिन थालेको आस्थाले सुनाइन्। ‘आमाले गाजर बेचेर पढाउनुभयो। म डाक्टर बन्दा सबैभन्दा बढी खुसी मेरी आमा हुनुहुन्थ्यो होला’ आस्था भन्छिन्, ‘मेरी आमाले दुर्घटनामा जीवन गुमाउनुभयो। अहिले उपचारमा आएका सबैमा आमाको मुहार देख्ने गरेकी छु। अब म यिनै आमाहरूलाई बचाउने छु।’ 

प्रकाशित: ३२ असार २०७९ ०५:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App