समाज

मान्बु पहिरोबाट विस्थापितलाई त्रिपाल

आरुघाट–१ स्थित श्यामचेतमा गएको पहिरो।तस्बिर: नागरिक

गोरखाको मान्बु–१ श्यामचेतमा पहिरो जाँदा ४० घर विस्थापित भएका छन्। बुधबार साँझ गएको पहिरोले दुईवटा घर बगाएको र अन्य करिब ४० भन्दा बढी घर जोखिममा परेका हुन्। 

जोखिममा रहेका घरबाट बुधबार राति स्थानीय सुरक्षित ठाउँमा सरेको र अन्नपात, पशुबस्तु भने बिहीबार बिहान सारिएको आरुघाट गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए। ‘केही बस्तुभाउ बगाएको, मरेका छन्, शुरक्षाकर्मीको सहायताले उद्धार गरेका छौं,’ उनले भने।

विस्थापितहरू कोही आफन्तको घरमा, गुम्बामा, सिद्धार्थ बनस्थली आधारभूत विद्यालयमा अस्थायी रूपमा बसेका छन्। जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले विस्थापितलाई राहत रामग्री वितरण गरिएको बताए। नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा २० वटा त्रिपाल, २० थान कम्बल, २० थान म्याट्रेसलगायत घर बगाएका दुई परिवारलाई दुई सेट सामग्री सहयोग गरिएको प्रजिअ आचार्यले बताए। गाउँपालिकाले पनि चाउचाउ, बिस्कुट, त्रिपाल वितरण गरेको जनाएको छ।  

रेडक्रस गोरखाका सभापति यदुविलास भट्टराई र जिल्ला प्रशासन कार्यालयका विपद् फोकल पर्सन श्यामसुन्दर ढकालसहितको टोलीलाई बिहीबार बिहानै राहत पठाइएको छ। गाउँपालिका, रेडक्रस, सुरक्षाकर्मीको टोली राहत वितरण र सुरक्षित आवास निर्माणमा खटिएको प्रजिअ आचार्यले बताए।  

पहिले तीन तहमा जाली भरेर गाउँलाई पहिरोबाट जोगाइएको वडाध्यक्ष सूर्य घलेले बताए। पहिलो तहको जाली नाघेर दोस्रो र तेस्रो तहको जाली भत्काएर पहिरो गाउँको बीच भागबाट बगेको उनले बताए। पहिरोका बीचमा पर्ने ३० घर र वरपरका अन्य १० घरमा तत्काल मान्छे बस्न खतरा रहेको उनले बताए। गाउँपालिका अध्यक्ष राजु गुरुङले पहिरो नियन्त्रणका लागि दिगो रूपमा काम हुन नसकेको बताउँदै थप अध्ययन गरेर अघि बढ्ने बताए।

‘तत्काल हामीले स्थानीयलाई त्रिपाल, खानेकुरा दिएका छौं, यसपछि सुरक्षित ठाउँमा बस्न उहाँहरूको मागअनुसार के दिन सकिन्छ गाउँपालिकाले व्यवस्था गर्नेछ,’ अध्यक्ष गुरुङले भने। नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीलगायतको टोलीले बुधबार राति नै पहिरो गएको ठाउँमा पुगेर स्थानीयलाई सुरक्षित ठाउँमा सारेको थियो। स्थानीय विपद् व्यवस्थापन समितिले त्यहाँको अवस्थाबारे जिल्ला विपद् व्यवस्थापन समितिलाई सिफारिस गर्छ।

उक्त सिफारिसको आधारमा जिल्ला विपद् व्यवस्थापन समितिले गृह मन्त्रालयसँगको सहकार्यमा थप सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए। ‘पहिरोको अवस्था, नियन्त्रण कसरी गर्न सकिन्छ भन्नेबारे गाउँपालिकाले पनि काम गरिरहेको रहेछ,’ उनले भने, ‘थप क्षति हुन नदिन र दीर्घकालीन व्यवस्थापनका लागि सहयोग गर्नेबारे गृह मन्त्रालयसँग सहकार्य गरिरहेको छु।’  

प्रकाशित: ३२ असार २०७९ ०२:२४ शनिबार

पहिरो