मोरङको लेटाङ नगरपालिकाले लिम्बू भाषाको स्थानीय पाठ्यक्रम निर्माण गर्ने भएको छ।नगरपालिकाले स्थानीय भाषाको प्रवद्र्दन तथा संरक्षण गर्ने उद्देश्यले लिम्बू भाषामा पाठ्यक्रम तयार गरेर लागू गर्ने भएको हो।
स्थानीय आवश्यकताका विषयवस्तु त्यहीँका नागरिकको अपनत्व हुने गरी सरोकारवालाले स्थानीय ज्ञान, सिप र प्रविधिलाई समेटेर विकास गर्ने पाठ्यक्रम नै स्थानीय पाठ्यक्रम हो। केन्द्रीय पाठ्यक्रमले समेट्न नसकेका विषयवस्तु स्थानीय पाठ्यक्रममा हुनु पर्दछ।
स्थानीय ज्ञानको प्रस्फुटन गर्नुका साथै नवीनतम ज्ञान र सिपको मार्ग दर्शन पहिल्याउन नगरपालिकाले लिम्बू भाषाको कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम निर्माण गर्न लागेको हो। पाठ्यक्रम निर्माण गरेर लागू गर्न बुधबार सम्पन्न नगरसभामार्फत आगामी आर्थिक वर्ष २०७९/०८० का लागि पास गरेको बजेट, नीति तथा कार्यक्रममा बजेट समेत व्यवस्थापन गरेको छ।
खासगरी लिम्बू समुदायको बाक्लो बसोबास रहेको क्षेत्रका विद्यालयहरुमा आधारभूत तहमा पठन–पाठन गर्ने उद्देश्यले पाठ्यक्रम निर्माण गर्न लागिएको हो।
यसैबीच, मोरङको लेटाङ नगरपालिकाले नगरसभाको अवसरमा विभिन्न क्षेत्रका व्यक्ति तथा विद्यालयलाई सम्मान गरिएको छ। ११औं नगरसभाको अवसर पारेर नगरपालिकाले नगरको उत्कृष्ट विद्यालय, उत्कृष्ट कृषक र चर्चित मूर्तिकारलाई सम्मान गरेको हो।
नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमध्ये सिकाइ क्षमतामा सबैभन्दा उच्च अंक हासिल गर्न सफल लेटाङ वडा नं. २ को लक्ष्मी माध्यमिक विद्यालयलाई नगद २ लाखसहित सम्मान गरिएको छ। मेयर उत्कृष्ट कृषक पुरस्कार २०७९ बाट ३ वटा कृषि फर्मलाई नगद ३० हजारसहित सम्मान गरियो।
जसमा लेटाङ वडा नं. २ को हातेमालो कृषि तथा पशुपन्छी ह्याचरी फर्म सञ्चालक राधा दाहाल, लेटाङ वडा नं. ३ मा सञ्चालित पुष्प स्मृति कृषि नर्सरीका आनन्द सागर तिम्सिना र लेटाङ वडा नं. ३ कै ललितकला कृषि फर्मका ललित श्रेष्ठ रहेका छन्। नगरपालिकाले लेटाङ वडा नं. २ का मूर्तिकलामा क्रियासिल चर्चित मूर्तिकार नवीन सुवेदीलाई पनि सम्मान गरिएको थियो।
प्रकाशित: २९ असार २०७९ १४:०६ बुधबार