समाज

छुट्टाछुट्टै स्थानमा २ जना पुरुष मृत फेला

मोरङको विराटनगर र रंगेलीमा मृत अवस्थामा २ जना पुरुष फेला परेका छन्। विराटनगरमा किरा परेको अवस्थामा शव भेटियो भने रंगेलीमा एक जना युवकको खोलामा डुबेर मृत्यु भएको हो।

विराटनगर महानगरपालिका–१३ स्थित हिमालय आँखा अस्पतालको उत्तरतर्फ एउटा अस्थाइ प्रकारको घरभित्र मंगलबार दिउँसो किरा परेको अवस्थामा पुरुषको शव फेला परेको मोरङ प्रहरीका डिएसपी राजन कार्कीले जानकारी दिए।

मृतकको पहिचान खुल्न सकेको छैन। सडक निर्माण गर्ने कामदार बस्नका लागि ट्रष्ट लगाएर बनाइएको घरभित्र अन्दाजी ४५/५० वर्षीय पुरुषको शव भेटिएको हो। शव भेटिएको घरमा अरु कोही पनि नरहेको प्रहरीले जनाएको छ।

टाउकोमा किरा परेको र सडेर दुर्गन्धित भएको अवस्थामा शव भेटिएको हो। सडेर नचिनिने अवस्थामा शव भेटिएको छ। शव पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पतालमा ल्याएर घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

त्यस्तै, रंगेली नगरपालिकाको कट खोलामा डुबेर मृत्यु रंगेली–२ का २५ वर्षीय भीम राईको मृत्यु भएको डिएसपी अधिकारीले बताए। खोलामा घुँगी टिप्न गएका राईको खोलामा डुबेर दिउँसो मृत्यु भएको हो।

घरबाट करिब ८ सय मिटर उत्तर–पूर्वमा रहेको खोलामा घुँगी टिप्ने क्रममा राई डुबेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। शव पोस्टमार्टमका लागि रंगेली अस्पतालमा राखी घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ असार २०७९ १३:१२ मंगलबार

मोरङको विराटनगर र रंगेली विराटनगर महानगरपालिका