समाज

सडकमा पहिरो खस्दा दुई घर जोखिममा

फाइल तस्बिर

वर्षातले बैतडीको श्रीभावर–हाट सडकखण्डमा पहिरो खस्दा दुई घर जोखिममा परेका छन्। पुर्चौडी नगरपालिका–६ भटेडी भन्ने स्थानमा पहिरो खस्दा स्थानीय मानवीर धानुकका दुई घर पहिरोको जोखिममा परेका हुन्। 

पहिरोले घरको आँगन बगाएको स्थानीयहरुले बताएका छन्। पानी पर्ने क्रम जारी रहेकाले पहिरोले थप क्षति निम्त्याउन सक्ने भन्दै जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट जोखिमयुक्त क्षेत्रको निरीक्षण समेत गरिएको छ।  

ढोल्यामोडबाट चार किलोमिटर दुरीमा सडकमा पहिरो खसेको र पहिरोले स्थानीयका दुई घर जोखिममा पारेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए। पहिरोको जोखिममा रहेका परिवारलाई अस्थायी बसोबासका लागि नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराउने, उक्त घरमा थप क्षति हुन नदिन पूर्वाधार विकास कार्यालयका तर्फबाट वाल निर्माण गर्ने र क्षतिको विवरण संकलन गरी आवश्यक सहयोगका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिस गर्ने निर्णय भएको सूचना अधिकारी भारतीले बताए।  

यस्तै पहिरोका कारण अवरुद्ध भएको सडक सुचारु गर्नका लागि पहिरो पन्छ्याउने काम भइरहेको र वाल निर्माणको काम समेत सुरु भइसकेको बताइएको छ।  

प्रकाशित: २७ असार २०७९ ०३:५६ सोमबार

श्रीभावर–हाट सडकखण्ड