समाज

जुडीबुटी खेती र भण्डारणको संयुक्त अनुगमन

डिभिजन वन कार्यालयले ताप्लेजुङमार्फत जुडीबुटी खेती विस्तार भण्डारणका लागि सेवाग्राहीलाई दिएको अनुदानको उपयोगिता र प्रभावकारिता बारे आइतबार स्थलगत अनुगमन गरेको छ।  

चालु आर्थिक बर्ष २०७८/७९ मा किसानलाई दिएको ७ लाख ५६ हजार रुपैयाँ सदुपयोगबारे सरोकारवालाहरुबाट अनुगमन गरिएको डिभिजन वन अधिकृत वीरेन्द्र शाहले जानकारी दिए। चालू आवमा तीतेपाती,सतुवा,चिराइतो,लौठ सल्ला र टिमुर लगायत जडीवुटी खेती गर्ने ६ जना किसानलाई प्रोत्साहन वापत अनुदान दिएको वन कार्यालयले जनाएको छ।  

सहायक वन अधिकृत ललितकुमार यादवका अनुसार ३ जनालाई १ लाख ५२ हजार र ३ जनालाई १ लाख रुपैयाँका दरले अनुदान दिएको हो। उनका अनुसार पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङका सनम गुरुङ,फुङलिङ नगरपालिका–९ हाङदेवाका कुमार गुरुङ र फुनपा–८ दोखुका कुमार लिम्बूलाई जनही १ लाख ५२ हजार रुपैयाँका दरले अनुदान दिइएको छ। सनमले करिब ४ रोपनी खेतमा तीतेपाती खेती गरेका छन्। गुरुङ र लिम्बूले सतुवा खेती गरेका छन्।  

यस्तै फुङलिङ नगरपालिका–११ फावाखोलाका पूर्णबहादुर भट्टराई,मैवाखोला गाउँपालिका–४ का सन्तकुमार लिम्बू र फुङलिङ नगरपालिका–९ हाङदेवाका इन्द्रबहादुर गुरुङले जनही एक–एक लाख रुपैयाँ अनुदान प्राप्त गरेका छन्। जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामासहितको टोलीले हाङ्देवास्थित गुरुङले सतुवा खेती गरेको स्थानमा पुगेर खेती बारे जानकारी लिएको छ। लामाले वास्तविक किसानलाई अनुदान दिएको पाइएको र अब उत्पादन र बजारीकरणका लागि मेहनत गर्नुपर्ने बताए। गुरुङले प्रतिगोटा १० रुपैयाँका दरले १४ हजार विरुवा खरिद गरेर खेती लगाएको बताए। उनका अनुसार करिव १ हजार ५ सय विरुवा भने मरेका छन्। यसअघि अनुदान प्राप्त गरेका किसानलाई पुनः अनुदान नदिएको कार्यालयले जनाएको छ।  

चालू आवमै डिभिजन वन कार्यालयले जडीबुटी खेती विस्तार भण्डारण तथा प्रशोधन कक्षका लागि ९ लाख १ हजार रुपैयाँ प्रदान गरेको जनाएको छ। पाथीभरा याङ्वरक गाउँपालिका–२ थेचम्बुमा भण्डारण कक्ष निर्माण गरिएको छ। सिन्चेकु सामुदायिक वन उपभोक्ता समितिमार्फत भवन निर्माण सम्पन्न भएको सहायक वन अधिकृत यादवले बताए। नीजि वनतर्फ भने ८ जना किसानलाई जनही १–१ लाख रुपैयाँका दरले ८ लाख रुपैयाँ अनुदान दिएको छ।  

यस्तो अनुदान पाउनेमा आठराई त्रिवेणी गाउँपालिका–४,चाँगेका दिलकुमार लङ्वा,मैवाखोला गाउँपालिका–२ का राजु तामाङ,फुङलिङ नगरपालिका–९ हाङ्देवाका लाक्पाछेकी शेर्पा,फुङलिङ–६ सुकेटारका ओमप्रकाश राई र फुङलिङ–७ का अनिल खड्का रहेका छन्। फुङलिङ नगरपालिका–८ का उमानाथ पौडेल र मैवाखोला गाउँपालिका–२ का पहलमान लिम्बूलाई क्रमशः ३९ हजार र ४२ हजार रुपैयाँ अनुदान दिइएको कार्यालयले जनाएको छ।  

यो अनुदान वनजंगल घेरावारा,बोटविरुवा काटछाँट र स्याहारमा प्रयोग हुने गरी दिइएको सहायक वन अधिकृत यादवले बताए। प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले अनुदान पाउने किसान मेहनेती र पौरखी पाएको प्रतिक्रिया दिए। वास्तविक किसानलाई अनुदान दिन सके मात्र कार्यक्रमको सार्थकता हुने भएकाले योजना पाउन योग्यलाइ मात्र छनौट गरेर अनुदान दिने गरेको डिभिजन वन कार्यालयले जनाएको छ। यो कार्यका लागि डिभिजन वन कार्यालयका प्रमुखको संयोजकत्वमा फोकल टिम गठन गर्ने प्रावधान छ।  

टिममा प्रशासन,कोष तथा लेखा नियन्त्रक कार्यालय,सामुदायक वन उपभोक्ता महासंघ,उद्योग वाणिज्य संघ र कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का प्रतिनिधि रहने छन्। डिभिजन वन कार्यालयले जिल्लाका विभिन्न ६ वटा ठाउँमा नर्सरी स्थापना गरेको छ। डिभिजन वन कार्यालय,पाथीभरा सव–डिभिजन कार्याल तोक्मे,तेल्लोक,दोभान,सान्थाक्रा र तिरिङेमा नर्सरी स्थापना भएको हो। ती ६ वटा ठाउँमा जडीवुटी विरुवा १ लाख,वार्षीक विरुवा १ लाख ५० हजार र वहुवर्षीय विरुवा ३० हजारको मात्रामा रहेको सहायक वन अधिकृत यादवले बताए।  

नर्सरीमा सतुवा,बोजो,अमला,अर्रो,जापानिज सल्ला,टाँकी,निभारो,सुन्तला र कागतीका विरुवा छन्। बिरुवा निःशुल्क रुपमा वितरण हुने तर प्रतिव्यक्ति २ सय भन्दा बढि मात्रामा माग भए जग्गाधनीपुर्जा अनिवार्य गरिएको यादवले जानकारी दिए। वन कार्यालयले रेडियो ताप्लेजुङ नजिक साढे ६ लाख रुपैयाँ खर्चिएर हरियाली चौतारी समेत निर्माण गरेको जनाएको छ।  

प्रकाशित: २६ असार २०७९ १२:०८ आइतबार

डिभिजन वन कार्यालयले ताप्लेजुङ जुडीबुटी खेती