समाज

मदन भण्डारी राजमार्ग मर्मतका लागि पालिका अध्यक्षसहितका जनप्रतिनिधि श्रम शिविरमा

संघीय सरकारले प्राथमिकता कम दिएर बजेट समेत ह्वात्तै घटाएपछि मदन भण्डारी राजमार्ग (बसन्तपुर–गुफा–साँघु–ढुङ्गेसाघु–दोभान खण्ड) को मर्मतका लागि ताप्लेजुङको मैवाखोला गाउँपालिकाका जनप्रतिनिधिको अगुवाइमा‘ बृहत जनश्रमदान शिविर’ चलाइएको छ। 

गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमको नेतृत्वमा जनश्रमदानमार्फत १५ किलोमिटर सडक मर्मत गर्न थालिएको छ। वनेमको नेतृत्वमा जनप्रतिनिधि र स्थानीय गरी करिव दुई सय जनाले श्रमदान गरेका छन्। 

लालीगुराँसको राजधानी मानिने तीन जिल्लाको संगम क्षेत्र (तीनजुरे–मिल्के–जलजले) हुँदै धार्मिक शक्तिपीठ पाथीभरा र विश्वको तेस्रो अग्लो शिखर कञ्चजंघातर्फ जाने यो बाटोको स्तरोन्नतीका लागि संघीय सरकारले कम मात्र चासो दिएपछि स्तरोन्नतीका लागि आफूहरु अगाडि आउनु परेको पालिका अध्यक्ष वनेमले बताए। उनका अनुसार राजमार्गको गुफा–साँघुसम्मको खण्ड अत्यन्तै खराब अवस्थामा रहेको र वर्षायाममा यातायात सञ्चालन गर्न ज्यादै समस्या रहँदै आएको छ। मैवाखोला गाउँपालिकाले मर्मतका लागि स्काभेटर, जेसीभी मेसिन र ट्रयाक्टर लागि इन्धनको व्यवस्था गर्ने गरी जनश्रमदानमार्फत सडक मार्मत गरिएको वनेमले बताए। 

मर्मतका क्रममा स्थानीय व्यवसायीहरुले मर्मत सामग्री ओसार्ने प्रयोजनका लागि १७ वटा ट्रयाक्टर निःशुल्क उपलब्ध गराएका थिए। ट्रयाक्टरमा ढुंगा माटोसहितका सामग्री ढुवानी गरिएको थियो। संघीय सरकारलाइ सडक मर्मतका लागि पटक–पटक आग्रह गर्दा पनि आग्रहको कुनै सुनुवाइ नभएको पालिका अध्यक्ष वनेमको दुखेसो रहेको छ।

‘यसपछि पालिकाकोतर्फबाट जनश्रमदानमा लाग्न स्थानीयलाई आग्रह गरेको हुँ’वनेमले भने। मैवाखोला क्षेत्रका लागि मात्र नभइ धरान–बसन्तपुर हुँदै ताप्लेजुङ सम्म पुग्ने पहाड–तराई जोड्ने छोटो मार्गका लागि संघीय सरकारले उचित ध्यान दिनुपर्ने वनेमले बताए। पानी,झरी र हिलोका कारण यो राजमार्गमा सवारी आवागमन प्रभावित हुने भएपछि तत्काल त्यो अवस्था हटाएर यात्रा सहज बनाउन अभियान थालिएको उनले बताए। ताप्लेजुङको फुङलिङ नगरपालिका क्षेत्रको बहानन्देबाट दोभान–ढुङ्गेसाँघु–साँघु–गुफा–चौक हुँदै बसन्तपुर सम्म पुग्ने मार्गलाइ मदन भण्डारी राजमार्ग भनिएको छ। 

नेपालको कम्युनिष्ट आन्दोलनका नेता मदन भण्डारीको जन्मगाउँ ताप्लेजुङको मैवाखोला गाउँपालिका साविक ढुङ्गेसाँघु गाविस हो। उनकै नाममा सरकारले यो मार्गलाइ मदन भण्डारी राजमार्ग नामाकरण गरेको छ। पालिकाले कम्तिमा महिनामा एकपटक भएपनि यो राजमार्ग मर्मत सम्भारका लागि स्थानीयलाइ जनश्रमदान गर्न आग्रह गरेको छ। पालिका अध्यक्ष वनेमका अनुसार यो राजमार्गका लागि संघीय सरकारको बजेट प्राथमिकता घटेको छ। 

‘बजेट त घटेको छ नै, यहाँका लागि बिनियोजन भएको रकम समेत अन्य जिल्लाको सडक कार्यालयमार्फत परिचालन हुने सुनेको छु’ वनेमले भने। खर्चमा दोहोरोपन हुने भन्दै संघीय सरकारको योजनामा पालिकाले थप खर्च गर्न पाउँदैन। संघीय सरकारले आवश्यक बजेट प्रवन्ध पनि नगर्ने र पालिकाले यो राजमार्गमा खर्च गर्नपनि नपाउने भएपछि जनश्रमदानको विधि अपनाइएको गाउँपालिकाले जानकारी दिएको छ। 

प्रकाशित: २६ असार २०७९ १०:५६ आइतबार