विपद्को समयमा खोजी कार्यका लागि बैतडीका सबै स्थानीय तहमा हेलिप्याड बनाउन थालिएको छ। सहज रूपमा हेलिकोप्टर अवतरण गराउन हेलिप्याड बनाउन थालिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताए।
मनसुनको प्रभाव बढ्दै गइरहेकाले बाढीपहिरो, चट्याङ र अन्य विपद्का बेला आपतकालीन रूपमा हेलिकोप्टर अवतरण गराउन सहज होस् भनेर सबै स्थानीय तहमा हेलिप्याड निर्माण थालिएको हो। जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको अध्यक्षतामा बसेको बैठकले जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् प्रतिकार्य योजना पारित गर्दै सबै स्थानीय तहमा हेलिप्याड पनि निर्माण गर्ने निर्णय गरेको हो।
विपद् व्यवस्थापन तथा न्यूनीकरण गर्न हेलिप्याड निर्माण गरिएको शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए। ‘आपतकालीन उद्धार गर्न सहज होस् भनेर हेलिप्याड निर्माण गरेका हौं,’ उनले भने, ‘विपद् जुनसुकै समयमना पनि आउने भएकाले हामीले क्षति न्यूनीकरणका लागि सुल्लेखान र शर्मालीमा गरी दुई स्थानमा हेलिप्याड निर्माण गरेको छौं।’
जिल्लाका अन्य स्थानीय तहले पनि हेलिप्याड निर्माणको तयारी थालेको जनाएका छन्। विपद्बाट घरबारविहीन हुनसक्ने परिवारको उद्धार तथा व्यवस्थापनका लागि प्रत्येक स्थानीय तहले आश्रयस्थल व्यवस्थापन गर्ने र त्यसको विवरण जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रलाई उपलब्ध गराउन भनिएको छ। जिल्लामा सम्भावित विपद्बाट प्रभावित हुनसक्ने परिवार र घरधुरीलाई ध्यानमा राखेर आ–आफ्ना तहमा रहेका अस्थायी आश्रयस्थल पहिचान गरी जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा पठाउन पनि जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।
मनसुनी वर्षालाई ध्यानमा राखेर यसबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि आवश्यक सामग्री तयारी अवस्थामा राख्ने, सडक अवरुद्ध भए तत्काल खुलाउन मेसिन र औजार तयारी अवस्थामा राख्ने, त्यस्ता मेसिन र औजार सञ्चालन गर्नेहरूको फोन नम्बरसहितको सूची जिल्ला आपतकालीन सञ्चालन केन्द्रमा उपलब्ध गराउनसमेत अनुरोध गरिएको उनले जानकारी दिए।
प्रकाशित: २६ असार २०७९ ०३:३२ आइतबार