समाज

दुई प्रतिभालाई सम्मानित गर्दै बज्जिका भाषा र मिडिया पुस्तक लोकार्पित

बज्जिका साहित्य संगम रौतहटको पचासौँ साहित्य गोष्ठीको अवसरमा दुई प्रतिभालाई सम्मानित गरिनुका साथै बज्जिका भाषा र मिडिया नामक कृति सार्वजनिक गरिएको छ।  

रौतहटको गरुडा नगरपालिकास्थित नगर सभा कक्षमा नगर प्रमुख कन्थमनि प्रसाद कलवारले बज्जिका साहित्यकार विश्वराज अधिकारीलाई तुलसी साहित्य पुरस्कार र बज्जिका अनुसन्धानकर्मी गिरिजा अधिकारीलाई संगम सम्मान २०७९ बाट सम्मानित गरेका छन्।

यसै गरी नगर प्रमुख कलवारले सञ्जय साह मित्र र गिरिजा अधिकारीको संयुक्त अनुसन्धानात्मक कृति बज्जिका भाषा र मिडियाको संयुक्त लोकार्पण गरेका छन्। नगर प्रमुख कलवारसँगै पूर्व जिल्ला शिक्षा अधिकारी बालदेव प्रसाद साह, सर्लाहीका साहित्यकार रामचन्द्र महतो कुशवाहा, अमेरिकी लेखक विश्वराज अधिकारी र बिन्दा साहनीले कृतिको संयुक्त लोकार्पण गरेका हुन्।  

नगरप्रमुख कलवारले बज्जिका भाषा र साहित्यको क्षेत्रमा निकै प्रगति भएको बताउँदै नगरपालिकाको तर्फबाट आफूले निरन्तर सहयोग गरिरहने बताएका छन्। बज्जिका भाषाको क्षेत्रमा हरेक दिन केही न केही कार्यक्रम भइरहेको देखेर आफूलाई खुसी लागेको बताउँदै नगर प्रमुख कलवारले बज्जिका भाषासँगै संस्कृतिको पनि विकास भइरहेको स्पष्ट पारेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व जिल्ला शिक्षा अधिकारी बालदेव साहले बज्जिका भाषा र साहित्यको विकासका लागि अक्षयकोषमा पचास हजार रुपैया सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

गरुडाका समाजसेवी धर्मनाथ प्रसाद जयसवालले स्थापना गरेको डेढ लाख रुपैयाको अक्षयकोषबाट संचालनमा रहेको तुलसी साहित्य पुरस्कार प्राप्त गरेपछि अमेरिकी लेखक विश्वराज अधिकारीले आफूले बज्जिकाको अर्को कृति पनि लेख्ने घोषणा गरेका छन्। बज्जिका भाषामा अधिकारीका दुई कृति प्रकाशित छन्।  

बज्जिका संगम सम्मान प्राप्त गरेपछि अनुसन्धानकर्मी गिरिजा अधिकारीले बज्जिका भाषा र साहित्यको विकासमा आफूले थप सहयोग गर्न तयार रहेको बताउँदै एउटा ठोस कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा गरुडा नगरपालिकाकी नगर उपप्रमुख पूनमकुमारी चौधरी, बज्जिका भाषा विकास परिषद नेपालका अध्यक्ष शिवचन्द्र प्रसाद साह, साहित्यकार रामचन्द्र महतो कुशवाहा, नेपाल पत्रकार महासंघ रौतहट शाखाका सचिव मदन ठाकुर, सर्लाहीका साहित्यकार मनमोहन सिंह मनोहर, राजेन्द्र ठाकुर, नवसर्जक चौतारी नेपाल मधेस प्रदेश अध्यक्ष रुबि गुप्ता, बिन्दा साहनी लगायतले मन्तव्य गर्दै बज्जिका भाषा र साहित्यको क्षेत्रमा आफूले सकेको योगदान दिने बताएका छन्।

प्रकाशित: २४ असार २०७९ १४:०१ शुक्रबार