समाज

दुर्घटनामा परेका पूर्वमन्त्रीसहित चार जनाको जिल्ला अस्पतालमा उपचार हुँदै

मदनभण्डारी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका १४ चन्दनपुरमा कार दुर्घटना हुँदा पूर्व मन्त्रीसहित चार जना घाइते भएका छन्।

काठमाडौँबाट धरानतर्फ जादै गरेको बा २ च ९००३ नम्बरको कार मदनभण्डारी राजमार्गमा दुर्घटना हुँदा कारमा सवार पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता कृपासुर शेर्पासहित चार जना घाइते भएका हुन्। शेर्पा सवार निजी कार आफैं अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोजकुमार लामाले जानकारी दिए।

आदिवासी जनजाती महासंघ प्रदेशन नं. १ को विस्तारित बैठकका लागि जानेक्रममा कारमा सवार शेर्पासहित आदिवासी जनजाति महासंघका महासचिव पेम्बा गुरुङ, केन्द्रीय उपमहासचिव देवराज राई, गणेश थापा सवार थिए।

जसमध्ये पूर्व मन्त्री सामान्य घाइते रहेको र गुरुङ, राई र थापा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। गाडी चालक पेम्बा शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको र थप उपचारका लागि काठमाडौँ पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २४ असार २०७९ १२:४६ शुक्रबार

मदनभण्डारी राजमार्ग कमलामाई नगरपालिका