समाज

व्यक्तिको जग्गा कीर्ते प्रकरणः मालपोतका ६ कर्मचारीसहित १३ जना दोषी ठहर

एक जोर लुगाको लोभमा पर्दा...

व्यक्तिको जमिन कीर्ते गरेर बिक्री गर्ने मालपोत कार्यालयका ६ जना कर्मचारीसहित १३ जनालाई जिल्ला अदालतले दोषी ठहर गरेको छ। अदालतले तीन जनालाई कीर्ते र ठगी तथा १० जनालाई कीर्तेमा दोषी ठहर गरेको हो। दोषी ठहर भएकाहरुको सजाय निर्धारण भने यसै साता हुनेछ।

वीरेन्द्रनगर–१२ मा रहेको सौगात रावतको नामको ३१११ कित्ता नम्बरको छ कट्ठा जमिन २०७७ साल असार आठ गते मालपोत कार्यालय र जग्गा दलालको मिलेमत्तोमा सहवीर कार्कीको नाममा पास गरेर भोलिपल्टै उक्त जमिन विभिन्न व्यक्तिहरुलाई बिक्री गरिएको थियो।

पीडितको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले मालपोत कार्यालयका तत्कालीन प्रमुखसहित १९ जनाविरुद्ध ठगी र कीर्तेमा मुद्धा दर्ता गरेको थियो। अदालतले तत्कालीन मालपोत कार्यालयका प्रमुख लक्ष्मी खत्रीसहित छ जनालाई सफाइ दिएको छ।

जिल्ला न्यायाधीश डा. राजेन्द्र आचार्यको एकल इजलासले बुधबार जग्गा खरिकर्ता महावीर कार्की, लेखनदास अमरसिंह कटुवाल, जग्गाको प्रपञ्च मिलाउने दलालीमा संलग्न सन्तोष ठाकुर, गणेश बुढा र निर्मल पुरी, मालपोत कार्यालय सुर्खेतका कम्प्युटर अपरेटर सुनिल राना, सुब्बा विश्वरुप साउँद, तिर्थबहादुर महतारा, खरिदार दीपेन्द्र श्रेष्ठ, कृष्णबहादुर थापा र गणेशबहादुर विक तथा तत्कालीन वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ का कार्यवहाक वडाध्यक्ष रामकुमार दर्लामी र वडा सचिव उत्तम अधिकारीलाई दोषी ठहर गरेको छ।

‘जग्गा दलालीमा संलग्न सन्तोष ठाकुर, गणेश बुढा र निर्मल पुरी कीर्तेसँगै ठगीमा पनि दोषी ठहर भएका छन्,’ श्रेष्तेदार ठाकुरप्रसाद पौडेलले भने, ‘दोषी ठहर भएकाहरुको सजाय निर्धारण यसै साता हुन्छ।’ न्यायाधीश आचार्यको फैसलामा मालपोत कार्यालयका तत्कालीन प्रमुख लक्ष्मी खत्री, सुब्बा कमला सापकोटा, नापी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र थापा, अमिन भिमलाल आचार्य, खरदार दीपेन्द्र पुलामीसहित छ जनाको जग्गा कीर्ते र ठगीमा संलग्नता नदेखिएको उल्लेख छ।

एक जोर लुगाको लोभमा पर्दा...

अर्काको जग्गा कीर्ते गरेर आफ्नो नाममा ल्याएका अभियुक्त सहवीर कार्कीले एक जोर कपडाको लोभमा पर्दा आफू फसेको बताएका छन्। कार्कीले आफू काम गर्ने बाख्रा फर्मका सञ्चालक गणेश बुढा, जग्गा कारोवारी सन्तोष ठाकुर र निर्मल पुरीले जग्गा नाममा ल्याउन सहयोग गरेवापत आफूलाई एक जोर नयाँ कपडा दिने प्रलोभन दिएको बताएका हुन्।

‘साहुले भनेपछि नाई भन्न सकिनँ,’ प्रहरीले अदालतमा बुझाएको उनको बयानमा भनिएको छ, ‘बाचा अनुसार नयाँ कपडा पनि किनिदिएनन्।’ कार्कीका अनुसार २०७७ असार पाँच गते तीनै जना वीरेन्द्रनगर–१ स्थित डेरामा आएर जग्गा तपाईको नाममा गरिदिन्छौं, त्यसवापत नयाँ कपडा किनेर दिन्छौं भनेका थिए।

‘असार आठ गते वडा कार्यालय, नापी र मालपोत कार्यालयमा पुर्‍याए,’ उनले बयानमा भनेका छन्, ‘एकै दिन जमिन मेरो नाममा आयो।’ प्रदेश राजधानी वीरेन्द्रनगर–१२ को करोडौं मूल्यको सौगात रावतको नाममा रहेको छ कट्ठा जमिन असार आठ गते एकैदिन वडादेखि मालपोतसम्म फाइल पुर्‍याएर कार्कीको नाममा दर्ता गरिएको थियो।

कार्कीसँग वीरेन्द्रनगरमा एक टुक्रा जमिन किन्ने आर्थिक हैसियत छैन। दैलेखबाट मजदुरी गर्न झरेका उनी बुढाको सम्पर्कमा पुगेका थिए। जग्गा दलालहरुले असार आठ गते कार्कीको नाममा नामसारी गरेको जमिन त्यसको भोलिपल्टै अरुलाई बिक्री गरेका थिए।

‘असार ९ गते फेरि मालपोत कार्यालय लगेर गए,’ कार्कीले अदालतमा दिएको बयानमा भनिएको छ, ‘माक्स लगाएका मालपोतका कर्मचारीले भनेको ठाउँमा ल्याप्चे लगाएर फर्किएँ।’ उनले बयानका क्रममा मुल जग्गाधनीलाई आफूले नचिनेको बताएका छन्।

‘वडादेखि मालपोतसम्म कहीँ पनि मुल जग्गाधनी आएनन्, सबै काम बुढा, ठाकुर र गिरीलेनै गरेका हुन्,’ उनले भनेका छन्, ‘वडा, नापी र मालपोतका कर्मचारीसँग पहिलेनै मिलाएका रहेछन्, मैले ल्याप्चे र हस्ताक्षर मात्रै गरेको हुँ।’

प्रकाशित: २३ असार २०७९ १०:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App