समाज

संखुवासभामा एकै परिवारका ६ जनाको हत्याका दोषीलाई आजीवन कैद

संखुवासभामा एकै परिवारका  ६ जनाको हत्यामा संलग्न ४ जनालाई   ज्रिल्ला अदालत संखुवासभाले आजीवन कैद सजायको फैसला सुनाएको छ। 

२०७८ भदौ २१  गते संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा भएको  घटनाका दोषीलाई जिल्ला अदालत संखुवासभाका न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले उक्त सजाय सुनाएको हो।  

हत्यामा ५ जना संलग्न रहेको पुष्टि भएको जनाउँदै एक जना नाबालाक रहेकाले चारलाई आजीवन कारावासको सजाय सुनाइएको जिल्ला प्रहरी कार्यलय संखुवासभाले प्रेस विज्ञप्तीमार्फत जनाएको छ। ‘चार प्रतिवादीहरुलाई आजिवन कैद सजाय र प्रति प्रतिवादी २ लाखले क्षतिपूर्ती तिर्नुपर्ने आदेश रहेको  छ ,’ विज्ञप्तीमा भनिएको छ, ‘नाबालकको हकमा २५ वर्षको दुई तिहाई कैद सजाय आदेश भएको छ।’  

२०७८ साल भदौ २१ गते  व्यक्तिगत रिसिविका कारण एकै परिवारको ६ जनाको हत्या गरिएको घटनामा  रणबहादुर कार्की संगै उनका छोराहरु २८ वर्षीय लोकबहादुर र १७ वर्षीय नरेशविरुद्ध कर्तव्यज्यान मुद्दा चलाइएको थियो। त्यस्तै उक्त हत्यामा संलग्न  ४७ वर्षीय खड्गबहादुर कार्की र उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्कीविरुद्ध पनि कर्तव्य ज्यान मुद्दा चलाइएको थियो।  

उक्त घटनामा ५५ वर्षीय तेजबहादुर कार्की, उनकी आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नातिनातिना ८ वर्षका विपिन र ५ वर्षीया गोमा कार्कीको हत्या गरिएको थियो।

प्रकाशित: २१ असार २०७९ ०९:५२ मंगलबार