समाज

प्रहरी कुट्ने दुई शिक्षक पक्राउ

प्रहरीमाथि कुटपिट गर्ने दुई जना शिक्षक पक्राउ परेका छन्। मादक पदार्थ सेवन गरी प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा सिरानचोक ४ छोप्राकका रामशरण पोखरेल र रामेश्वर पोखरेल पक्राउ परेका हुन्।

मोटरसाइकल चलाएर घर जादै गर्दा लडेका पोखरेल दाजुभाइलाई सहयोग गर्न पुगेका प्रहरीमाथि कुटपिट गरेका हुन्। रामशरण मण्डली मावि छोप्राक र रामेश्वर रत्नराज्य माविका शिक्षक रहेका प्रहरीले जनाएको छ। उनीहरुविरुद्ध आइतबार सार्वजनिक शान्तिविरुद्धको कसुर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी लिलाराज लामिछानेले बताए।  

ढुङ्गा प्रहारबाटअस्थायी प्रहरी पोष्ट चोरकाटेमा कार्यरत प्रहरी जवान अनन्तबहादुर रोका र प्रहरी हवल्दार अर्जुनबहादुर सेन घाइते भएका छन्। रोकाको टाउको र अनुहारमा चोट लागेको छ। गम्भीर घाईते प्रहरीको गोरखाअस्पतालमा सामान्य उपचारपछि चितवन मेडिकल कलेजमा थप उपचार भइरहेको डिएसपी लामिछानेले बताए।

प्रहरी हवल्दार अर्जुनबहादुर सेनको अवस्था भने सामान्य छ।

प्रकाशित: २० असार २०७९ ०४:०४ सोमबार