मृत फेला परेका विभिन्न ४ जना व्यक्तिको हत्या भएको भन्दै संलग्नहरुलाई पक्राउको माग गर्दै मृतकका परिवारजनसहित धरानका केही राजनीतिक दलहरुले दैनिकरुपमा एक घण्टा धर्ना दिइरहेका छन्।
धरानको भानुचोकमा गत शनिबार (असार ११ गते)देखि दिउँसो ४ बजेदेखि ५ बजेसम्म दैनिक एक घण्टा मृतकका परिवारसहित धर्ना कार्यक्रम भइरहेको हो। धरान ४ का प्रदिप सुब्बाको २०७८ बैशाख पहिलो साता वेदामे खहरे खोलामा शव भेटिएको थियो। यस्तै, २०७८ साउन १३ गते धरान ५ का विनोद लिम्बुको शव पनि उनकै घरको पानी ट्यांकीभित्र फेला परेको थियो।
यसैगरि, साँगुरीगढी गाउँपालिका घर भई धरान ११ मा बस्तै आएका झगेन्द्र राईको शव २०७८ कार्तिक २ गते धरानको वडा नं २० स्थित खैरे खोलामा भेटिएको थियो भने धरान ११ का सन्दिप लम्जेलको शव गत जेठ १२ गते धरान ५ स्थित सेउती खोला किनारमा भेटिएको थियो। यी मध्ये प्रदिप सुब्बा र सन्दिप लम्जेलको हत्यामा संलग्नहरु पक्राउ परेर अदालतमा पेश भइसकेको छ भने झगेन्द्र राई र विनोद लिम्बुको घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
चार वटा घटनामध्ये प्रदिप र सन्दिपको हत्या भएको प्रहरीको निष्कर्ष छ भने झगेन्द्र र विनोदको हत्या भएको हो वा होइन भन्ने निष्कर्षमा प्रहरी पुगेको छैन। मृतकका परिवारजनहरुले भने प्रहरी अनुसन्धान र अदालतको न्यायिक प्रक्रियाप्रति असन्तुष्टी जनाउदै धर्नामा बसेका छन्। उनीहरु राष्ट्रिय जनमुक्ति पार्टीको नेतृत्वमा धर्नामा बसेका हुन्। मृतक परिवारको आडमा राजनीति भएको टिप्पणी भइरहे पनि जनमुक्तिका नेता राजेश खिम्दुङले राजनीति गरेको नभै पीडित परिवारलाई न्याय दिलाउन धर्ना गरिएको बताए। उनले मान्छेको हत्या भइरहे पनि प्रहरी प्रशासन र अदालतबाट न्यायको अनुभूति नभएको दाबी गरे। ‘प्रहरी प्रशासन, अदालतमा न्याय पाउदैन। न्याय खोज्न कहाँ जाने त ? त्यसैले सडकमा धर्ना बसिरहन्छौ?’उनले भने,‘मान्छे मारिदा किन जेल चलान गरिदैन ? गरिब, दुःखी मारिदा किन कारबाही हुदैन ?’
मृतक विनोद लिम्बुकी श्रीमति कान्छी स्याङ्बोले घरभित्रै आफ्नो श्रीमान्को हत्या भएको भएपनि हत्यारा पत्ता नलागेकोमा आक्रोश पोखिन्। घटनाको बेला उनी इजरालइलमा थिइन्। ‘यतिको समय बितिसक्यो, हत्यारा किन पत्ता लाग्दैन?’ उनले प्रश्न गरिन्। मृतक सन्दिप लम्जेलका बुबा पिठे सार्कीले न्याय नपाएकोले धर्नामा बसेको बताए। छोराको हत्यामा पक्राउ परेका २ जनामध्ये अदालतबाट एक जना छोडिएको र अर्कालाई बाल गृहमा पठाएकोले चित्त नबुझेको बताए। ‘हामी २ जनाले मात्र मारेको भन्थे, अदालतमा मैले होइन, उसले मात्र हो भनेर अदालतले छोडिदिएछ,’उनले भने, ‘त्यसरी किन छोडियो त ? एक जनालाई अदालत लगेकै दिन हाजिर गराएर छोडिदिइहालेछ।’
प्रहरीले भने धर्नामा उठाइएको ४ जना घटनामध्ये २ जना प्रदिप सुब्बा र सन्दिप लम्जेलको अनुसन्धान सफल भएर अदालतमा पेश भइसकेको जनाएको छ। प्रदिपको हत्या घटनाको अनुसन्धान गरि संलग्न भएको आरोपमा धरान १४ का भरत भुजेल, मंगलसिंह लिम्बु र जन्तरे भनिने रामकुमार राई पक्राउ परेका थिए। जिल्ला अदालतले ती मध्ये जन्तरेलाई पुर्पक्षको लागि थुनामा पठाएको थियो भने २ जनालाई धरौटीमा छोडेको ईलाका प्रहरी कार्यालय धरानका प्रमुख एवं डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए।
यसैगरी, अर्का सन्दिप लम्जेलको हत्यामा संलग्न २ जना नाबालकलाई पनि पक्राउ गरिएको थियो। मृतकले यौन सम्बन्ध राख्न केटी खोजी दिन दबाब दिएपछि होटलमा कार्यरत १७ बर्षीय नाबालकले हत्याको योजना बनाएका थिए। उनले अर्का १२ बर्ष १० महिना मात्र उमेर भएका बालकको मद्दत लिएर लम्जेलको हत्या गरेको प्रहरी अनुसन्धानबाट देखिएको थियो। दुवै जना नाबालक भएकोले जिल्ला अदालतले कानुन वमोजिम १२ बर्षका बालकलाई अभिभावकको जिम्मा लगाएको थियो भने १७ बर्षीयलाई बाल सुधार केन्द्र भक्तपुर पठाएको डिएसपी श्रेष्ठले बताए।
यस्तै, घरको ट्यांकीमा मृत भेटिएका विनोद लिम्बु र खैरे खोलामा मृत भेटिएका झगेन्द्र राईको घटनाको भने अनुसन्धान भइरहेको पनि डिएसपी श्रेष्ठले बताए। ‘पानीटंकीमा भेटिएको शवको शंका गर्ने ठाउँ छ, र हामीले अनुसन्धान जारी राखेका छौ,’ उनले भने, ‘खैरे खोलामा भेटिएको शव बाढी आएको बेला मोटरसाइकलमा तर्ने क्रममा बगाएर मृत्यु भएको हुनपनि सक्छ। यसमा शंका गर्ने अन्य ठाउँ छैन। तरपनि दुवै घटनाको अनुसन्धान जारी छ।’
घटनाबारे मृतक परिवार बुझ्न आउदा सबै बेलिबिस्तार लगाएर बुझाएर पठाएको र मिसिलसमेत उपलब्ध गराएको प्रहरीले जनाएको छ। अनुसन्धानमा कुनै कमी कमजोरी नभएको दाबी गर्दै डिएसपी श्रेष्ठले अदालती प्रक्रियामा चित्त नबुझे कानुनी उपचारमा जाने बाटो पनि खुला रहेको बताए।
प्रकाशित: १९ असार २०७९ १४:१३ आइतबार