समाज

धर्मेन्द्र झालाई स्वतन्त्रता सेनानी सम्मान

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा राष्ट्रिय समाचार समितिका अध्यक्ष धमेन्द्र झालाई स्वतन्त्रता सेनानी सम्मान प्रदान गरिएको छ। नेपाल पत्रकार महासंघ पाँचथर शाखाले झालाई उक्त सम्मान प्रदान गरेको हो।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि निरन्तर लागि परेको भन्दै शाखाले उक्त सम्मान दिएको हो। सम्मानसहित ३३ हजार ३ सय ३३ रुपैँयासहित पुरस्कृत पनि गरिएको थियो। पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले झालाई सम्मान गरे।

उक्त सम्मानबाट यस अघि विष्णु निष्ठुरी, शिव गाँउले, किशोर नेपाल, तारानाथ दाहाल, हरिहर विरही र महेन्द्र विष्ट सम्मानीत भइसकेका छन्। सोही अवसरमा स्व. प्रजापति–जालपादेविख खेलकुद पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका पाँचथर संवाददाता विजयवोध लावती पुरस्कृत भएका छन्।

फिदिम स्र्पोटिङ क्लबले पत्रकार महासंघ पाँचथर शाखाको समन्वयमा प्रदान १० हजार रासिको पुरस्कार लावतीले पाएका हुन्। यस्तै यस्तै, स्व. हरिचरण–भद्रमाया वातावरण पत्रकारिता पुरस्कारबाट मितेरी एफएमका स्टेशन म्यानेजर खविन लुइटेल पुरस्कृत भएका छन्। यो पुरस्कारको रासि ५ हजार ५ सय ५५ रुपैँया रहेको छ।

सर्वोकृष्ट फिचर तर्फ लक्ष्मी गौतम र उत्कृष्ट फोटो तर्फको पुरस्कार रविन्द्र काफ्लेलाई प्रदान गरीएको थियो। वर्षभरी प्रशासित सामाग्रिका अधारमा ५/५ हजार रुपैँया रासिको पुरस्कार प्रदान गरीएको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले सरकार कारबाही गर्ने कानुन ल्याएपनि पत्रकारको क्षमता विकासका योजना ल्याउन नसकेको धारणा राखेका थिए।

प्रकाशित: १८ असार २०७९ १३:०५ शनिबार

नेपाल पत्रकार महासंघ राष्ट्रिय समाचार समिति स्वतन्त्रता सेनानी सम्मान प्रदान