समाज

त्रियुगाका सबै वडामा विपद् व्यवस्थापन समिति गठन

केही दिनयता बढेको वर्षाको क्षतिको प्रतिकार्यका लागि त्रियुगा नगरपालिकाले नगर र वडा स्तरीय ‘विपत व्यावस्थापन समिति’ गठन गरेको छ। नगरपालिकामा बिहीबार बसेको सर्वपक्षीय बैठकले नगरस्तरीय मुल समिति र १६ वटै वडास्तरीय समिति गठन गरेको हो।

मेयर उपमेयर, वडाध्यक्ष, प्रशासन, प्रहरी र सरोकारवाला निकायका व्यक्तिहरु संलग्न बैठकले नगरप्रमुख बसन्तकुमार बस्नेतको संयोजकत्व र सदस्यमा उपप्रमुख, विभिन्न शाखा प्रमुखहरु, सहायक प्रमुख जिल्ल अधिकारी, सुरक्षा निकाय प्रमुखहरु, नेपाल रेडक्रस सोसाईटी, स्थानीय उद्योग वाणिज्य संघ, गैरसकारी संस्था महासंघ, पत्रकार महासंघ र राष्ट्रिय मान्यता प्राप्त दलका प्रतिनिधि सदस्य रहेका छन्।

दैवी विपद् परेका बेला तत्कालै प्रतिकार्य गर्ने कार्यादेशसमेत समितिलाई बैठकले दिएको छ। मेयरको संयोकत्वमा नगरस्तरीय समिति गठनसँगै वडाध्यक्षको संयोजकत्वमा वडास्तरीय समितिहरुको पनि गठन भएको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालले बताए।

ढकालका अनुसार केही दिनयता निरन्तरको वर्षाले नगरका विभिन्न भागमा बाढी पहिरो जानुका साथै डुबान कटानले जताततै क्षेती सुरु गरेपछि त्यसको बचाउ गर्न समितिहरु गठन गरिएको मेयर बस्नेतले बताए। अहिलेको मौसम विपद् भित्र्याइसकेको अवस्था भएको र अन्य थुप्रै सम्भावित विपद्का घट्नाहरु हुने जोखिम बढेको भन्दै नगरपालिकाले तत्काल उद्धार र प्रतिकार्यका लागि तैनाथ रहन बैठकले समितिलाई निर्देशनसमेत दिइसकेको छ।

नगरपालिकाले यसअघि नै विपद व्यवस्थापन ऐन बनाइसकेको थियो तर, समिति भने गठन नगरेको अधिकृत ढकालले बताए। आकस्मिक घट्ने दैवी प्रकोपलाई नै विपद् मानिने गरेको भन्दै ढकालले त्यसबाट बँच्न सबै सरोकारवाला निकाय र व्यक्ति सचेत हुनुपर्ने बताए।

विपद्को योजना, पूर्वतयारी, प्रतिकार्य, जोखिम न्यूनिकरण, उद्धार, राहत, पुनःस्थापना, पुनः निर्माण जस्ता कार्य गर्नका लागि विपत व्यवस्थापन समिति गठन गरिएको नगरपालिकाले जनाएको छ। गठित समितिलाई प्रभावकारी रुपमा परिचालन गर्न नगर र वडास्तरीय सबै समिति संयोजकलगायत सदस्यहरुलाई आवश्यक निर्देशन दिइसकिएको उपप्रमुख महेश्वरी राईले बताएकी छिन्।

प्रकाशित: १७ असार २०७९ ०९:२५ शुक्रबार

त्रियुगा नगरपालिका