समाज

धादिङको गल्छिमा बस दुर्घटना हुँदा ४१ जना घाइते

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गल्छि गाउँपालिका–४ चिरौँदी पुल नजिकै बस दुर्घटना हुँदा चालकसहित ४१ जना घाइते भएका छन्।

काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख–९७२९ नम्बरको बस शुक्रबार बिहान दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीका अनुसार बस अनियन्त्रित भइ आफ्नै साइडको भित्तामा ठोक्किएको छ।

तीव्र गतिमा गुडिरहेको बस भित्तामा ठोक्किँदा बसमा सवार अधिकांश यात्रु घाइते छन्। घाइते भएका २२ जनाको काठमाडौँमा रहेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। सामान्य घाइते १४ जनाको गल्छीमा र ४ जनाको आदमघाटमा रहेको स्वास्थ्य संस्थामा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: १७ असार २०७९ ०४:२१ शुक्रबार

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गल्छि गाउँपालिका बस दुर्घटना