समाज

गर्दुमवासी भन्छन्: पानीको दुःखले भोक निन्द्रा नै लाग्दैन

गाउँभन्दा एक घण्टाको बाटोमा रहेको पधेँरी खोलाको पानी भर्दै धादिङको धुनीबेसी नगरपालिका–७ गुर्दङका स्थानीय। तस्बिर: शंक/नागरिक

धुनीबेसी नगरपालिका–७ गुर्दुममा मध्य वर्खामा पनि खानेपानी छैन। वर्षाैदेखि खानेपानीको हारगुहार गर्दै आएका गुर्दुमवासी अहिले पनि खोलाकै पानी खान बाध्य छन्। ३४ वर्षीया शर्मिला तामाङ भन्छिन्, ‘पानी परेको दिन त आकासे पानीले नै प्यास मेटाउँदै आएका छौं।’

मध्य असारको उखरमौलो गर्मी छ। पानीको प्यास छिटो लाग्छ। आकाशबाट कतिबेला पानी ओइरिने हो पत्तो छैन। बाढीपहिरोको पनि उत्तिकै डर छ। कयौपटक खानेपानी लिन खोलामा पुग्नै लाग्दा भल आएपछि रित्तै घर फर्किएका कहालिलाग्दो अनुभव सुनाउँछन् स्थानीयहरु। ‘पानी परेपछि  खोलामा भल आउँछ, पानी धमिलो हुन्छ। खोलामा भल आएको बेलामा आकाशेपानी थापेर खानु हामी सबैको बाध्यता हो’, यहाँका स्थानीयहरु एकै स्वरमा पीडा सुनाउँछन्।

पानीको दुःखले न भोक लाग्छ न निन्द्रा नै लाग्छ। खानेपानी कसरी जुटाउने, बस्तुभाउलाई कहाँबाट ल्याउने भन्ने चिन्ता हरेक दिन सबैलाई छ। खाना पकाउन आकाशे पानी नै प्रयोग गर्छन्। खोलामा बाढी आएको बेला त्यहि आकाशेपानी खाने गरेका छन्। लुगा धुन, नुहाउन खोलामा नै जान्छन्। शर्मिला भन्छिन्, ‘पानीको जोहो गर्दैमा एक बिहान सकिन्छ, काम गर्न पनि भ्याइँदैन।’  

गर्दुम गाउँमा ६८ घरधुरीको बसोबास छ। गाउँभरीमा एउटै मात्र धारा छ। तर, पानी कहिले आउँछ टुंगो हुँदैन। धारामै पानी आएपनि धितमर्ने गरी पानी खान पाउँदैनन्। खोलाको पानीलाई दुई वटा मेसिनको सहायताले धारामा ल्याइने गरेको छ। बत्तीको पावरले त्यति नधान्ने भएकाले धारामा नियमित पानी आउँदैन। हावाहुरी र पहिरोले मोटरमा समेत क्षति पुगेपछि पानी लिन खोला नै धाउनुपरेको छ। मेसिनको सहायताले धारामा ल्याइएको पानी छ महिना मुस्किलले खान पाइन्छ। बाँकी ६ महिना खोला नै धाउनुपर्छ।  

पानी लिन पधेँरी खोला झर्दै धुनीबेसी नगरपालिका–७ गुर्दङका स्थानीय।

बिहान ५ बजे खोलामा पानी लिन पुगिसकेका हुन्छन्। घरको काम, खेतबारी, बालबच्चा हेरचाह्र, मेलापात गुर्दुमवासीको दैनिकी हो। सरकारले सहरबजारमा खानेपानी पुर्‍याउन करोडौंको लागतमा आयोजना सञ्चालन गरे पनि गाउँबासी अहिलेसम्म खोलाको पानी खानुपर्ने बाध्यता छ। अझै पनि गाउँघरमा खानेपानीको धेरै दुःख छ। खोलाको दूषित पानी खानुपर्ने बाध्यता अझै हटेको छैन। गाउँमा खानेपानीको आयोजना सञ्चालन नहुँदा दशकौदेखि स्थानीयले खोलाको पानीले प्यास मेटाउँदै आएका छन्।  

देशमा कयौं पटक सरकार परिवर्तन भए। कयौं मन्त्री फेरिए। घरघरमा सिंहदरबारको नारासहित दोश्रो पटक स्थानीय सरकार बदलियो तर, उमेरले ६७ नाघेकी गुर्दुमकी साइली तामाङको दैनिकी कहिल्यै बदलिएन। सानासाना बोत्तल र ग्यालिन बोकेर खानेपानी लिन खोला धाउनुपर्ने बाध्यता ज्यूँ का त्यूँ छ।  

एक घण्टा हिडेर पधेरी खोलाबाट पानी बोक्नु यहाँका स्थानीयको दैनिकी हो। पानी लिन खोलामा ओरालो लाग्नेहरुको लाम हुन्छ, घर फर्कदा पनि उस्तै हुन्छ। पिठ्युमा खानेपानीको ग्यालिन नबोके तिर्खा मेटाउन पाइदैन। पेटभरी पानी खानै नपाइ मरिने पो होकी भन्ने चिन्ता यहाँका सबैलाई छ। गाउँको बीचमा दुईवटा आहालमा पानी जमाइएको छ। जुन आकाशबाट परेको पानी जम्मा गरिएको हो। यो बस्तुभाउलाई दिन प्रयोग गर्छन्। आहाल नजिकै पानीको धारो छ तर धारामा पानी आउँदैन।

नेपालको संविधानले स्वच्छ पिउने पानी पाउनु नागरिकको मौलिक हकको रुपमा व्याख्या गरेको छ। तर, यहाँका नागरिकहरुले त्यसको उपयोग गर्न पाएका छैनन्। ‘एक घर एक धारा’ तीन वटै सरकारको नीति तथा कार्यक्रम भएपनि कार्यान्वयन नहुँदा उपभोक्ता वर्षौदेखि खानेपानीको सास्ती व्याहोर्न बाध्य छन्। वर्षैपिच्छे चुनावी मुद्दा बन्ने खानेपानी योजना न त स्थानीय तहबाट पूरा भयो न त प्रदेश र संघबाट नै। खानेपानीका लागि स्थानीय सरकार गुहारेका छन् तर कतैबाट पनि समस्या समाधान हुन सकेको छैन। पानी कै अभावमा तरकारी खेतीदेखि अन्नबाली लगाउन समेत समस्या भएको स्थानीयको भनाइ छ ।

 बस्तुभाउलाई दिन आहालमा जम्मा भएको पानी भाडोमा भर्दै स्थानीय। 

गर्दुमगाउँमा पानीको दुःख भनिसाध्य छैन। बिजुलीबत्तीले अन्धकार बनेको पनि महिना बित्यो, तत्काल उज्यालो हुन छाँटकाट छैन। गाउँमा स्वास्थ्यचौकी छैन, स्वास्थ्य सेवा लिन दुई घण्टा हिडेर नौबिसे स्वास्थ्य चौकीमा जानुपर्छ। गाउँमा ४ कक्षासम्म पढ्ने गुर्दुङ आधारभूत विद्यालय छ। बाँकी शिक्षा लिन अन्तै जानुपर्छ।  

खानेपानी, विजुलीबत्ती, स्वास्थ्य सेवा दिन र आफ्ना नानीबाबुले पढ्नकै लागि लामो यात्रा तय गर्नुपर्ने समस्या हल गरिदिन गाउँमा आएका नेता, स्थानीय सरकार गुहारिरहन्छन् तर समाधान गरिदिने कोही भेटिएका छैनन्।

प्रकाशित: १५ असार २०७९ १३:३८ बुधबार