समाज

वर्षा नहुँदा रोपाइँ गर्न समस्या

समयमै वर्षा नहुँदा यहाँका किसानलाई रोपाइँ गर्न समस्या भएको छ। आकाशे पानीको भरमा धान रोप्दै आएका किसान वर्षा नहुँदा समस्यामा परेका हुन्। जिल्लाको यहाँ अधिकांश क्षेत्रमा आकाशे पानीको भरमा रोपाइँ गर्ने गरिएको छ।

असार दोस्रो सातासम्म पनि मनसुन सुरु नहुँदा धानको बेर्ना ब्याडमै सुक्न थालेको छ। ब्याड राखिएको बीउ रोप्न योग्य भए पनि पानीको अभावमा खेत बाँझै रहेको स्थानीय किसान बताउँछन्। खोला किनार र सिँचाइ भएका खेतमा रोपाइँ सुरु भए पनि आँकाशे पानीको भरमा रोपाइँ हुने खेत बाझै रहेको छ।

जेठ १५ गतेदेखि असार मसान्तसम्म रोपाइँका लागि उत्तम समय मानिन्छ। जिल्लामा हालसम्म बढीमा १५ प्रतिशतमा मात्रै रोपाइँ भएको अनुमान कृषि ज्ञान केन्द्रको छ। बेसीक्षेत्र तथा सिँचाइ सुविधा भएका क्षेत्रमा मात्रै रोपाइँ भएको केन्द्रका कृषि प्रचार अधिकृत नरेन्द्रबहादुर चन्दले जानकारी दिए। रोपाइँका लागि यो उपयुक्त समय हो। वर्षा नहुँदा यो समयमा रोपाइँ गर्न सकिएको छैन।

जिल्लाको सुर्नया नदी किनार, चौलानी नदी किनार, पुर्चौडीको हाट, पाटन, पञ्चेश्वरलगायतका बेँसी क्षेत्रमा रोपाइँ भए पनि अन्य क्षेत्रमा बाँकी छ। पाटन नगरपालिकाको पाटन फाँट, सलेना, पुर्चौडीहाट, डिलासैनी, सिगास गाउँपालिकाका विभिन्न क्षेत्र, दशरथचन्द नगरपालिकाको सेरा क्षेत्र धानखेतीको लागि  पकेट क्षेत्र हुन्।

प्रकाशित: १३ असार २०७९ ०४:५३ सोमबार