समाज

पोखरामा भ्वाङ पर्दा बाटो र घर भासियो

पोखरा–४ फिर्के पुल नजिकै भित्री सडकमा परेको भ्वाङ र जोखिममा रहेको घर ।

पोखरामा भ्वाङ पर्दा बाटो र घर भासिएको छ। पोखरा महानगरपालिका–४फिर्के पुल नजिकैको भित्री सडकमा भ्वाङ पर्दा बाटोसँगै एउटा घर भासिएको हो। अविरल वर्षापछि आएको भलपानीले निकास नपाउँदा जमिन गलेर भासिएकाले भ्वाङ परेको स्थानीयले बताएका छन्।

पोखरा–बागलुङ राजमार्गको फिर्केखोला पुलको माथिल्लो भागबाट पूर्वतर्फ लाग्ने वित्तिकै करीब ५–७ मिटर फराकिलो भ्वाङ परेको छ। सडकमै भ्वाङ परेपछि फिर्के पुल माथिल्लो क्षेत्रबाट गणेश मन्दिर र गैह्रापाटनतर्फ निस्कने बाटो बन्द गरिएको छ। स्थानिय वडाका जनप्रतिनिधिको पहलमा ट्राफिक प्रहरीले भ्वाङ परेको क्षेत्रलाई घेरा हालेर सो क्षेत्रमा प्रवेश निषेध गरेको छ।

बाटोमै भ्वाङ परेपछि सो क्षेत्रको नजिकमा रहेको पुन काष्ठ फर्निचर शो–रुम जोखिममा परेको छ। फर्निचर शो–रुमको डीपीसी ढलानमुनी ठूलो भ्वाङ परेकाले शो–रुम जोखिममा परेको पोखरा–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले जानकारी दिए। साथै त्यहिँनजिकै रहेको बुढानिलकण्ठ किरियाकर्म आवासीय भवन पनि जोखिममा रहेको उनले बताए।

बगलुङ बसपार्क प्रहरी चौकीका अनुसार राती करिब एकबजेतिर भ्वाङ परेको हो। सो चौकीबाट गस्तीमा खटिएको प्रहरी टोलीले राती नै भ्वाङ परेको भेटेको बागलुङ बसपार्क प्रहरी चौकीका ईञ्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक भट्टेराम गुरुङले बताए। ‘हाम्रो प्रहरी टोलीले रातीको गस्ती गर्ने क्रममा भ्वाङ परेको भेटेको थियो। ‘राती सानो मात्र भ्वाङ परेको थियो तर विहान त ठूलो भ्वाङ परेको देखियो,’ उनले भने।

यसैबीच, डोजरको प्रयोग गरेर भ्वाङ पुरिएको छ। जोखिम कम गर्नका लागि भ्वाङ पुरिएको वडाध्यक्ष पराजुलीले बताए। पोखरामा पानीको निकास नहुँदा भ्वाङ पर्ने समस्या पटक÷पटक दोहोरिदै आएको छ।

प्रकाशित: १२ असार २०७९ ०९:१३ आइतबार

पोखरामा भ्वाङ