समाज

१९ लाख बढीको चिनी र दाल बरामद

प्रहरीले बरामद गरेको चिनी। तस्बिरः नागरिक

प्रहरीले नेपालगन्जबाट भन्सार छली गरिएको ठूलो परिमाणको चिनी र दाल बरामद गरेको छ। नेपालगन्ज उपमहानगरपालिका–१ नन्दनी मिलको प्रांगणबाट प्रतिबोरा ५० किलोग्रामका पाँच सय २० बोरा चिनी र प्रतिबोरा ३० किलोग्रामका ५१ बोरा बोडीको दाल बरामद गरेको हो।

पाँच सय २० बोरा चिनीको अन्दाजी मूल्य १८ लाख २० हजार र ५१ बोरा दालको अन्दाजी मूल्य एक लाख सात हजार गरी जम्मा १९ लाख २७ हजार हुन आउने प्रहरीले जनाएको छ। नन्दनी मिलको प्रांगणमा भन्सार छली चोरी पैठारीको सामान रहेको भन्ने सूचनाको आधारमा शुक्रबार साँझ ७ बजेको समयमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोली तथा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उक्त समान बरामद गरेको हो। उक्त सामान भन्सार छली चोरी पैठारी गरी भण्डारण गरिराखेको र खरिदबिक्रीको कुनै कागजात नभएको प्रहरीले जनाएको छ।

बरामद समान आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा पठाइएको छ। नेपालगन्ज भन्सारदेखि धम्बोझीसम्म सात ठाउँमा प्रहरी चेकिङ हुने गरेको छ। त्यतिका प्रहरी चेकिङबिच पनि यति ठूलो परिमाणको सामान बरामद हुनुले प्रहरीको भूमिकामा प्रश्न उठाएको छ। नन्दनी मिलका सञ्चालकले अर्कै व्यक्तिले भाडामा उक्त सामान राखेको प्रहरीलाई बताएका छन्। यो समाचार तयार पार्दासम्म सामान दाबी गर्ने व्यक्ति सम्पर्कमा नआएकाले प्रहरीले सामानलाई बेवारिसे भनेको छ।

प्रकाशित: १२ असार २०७९ ०३:४० आइतबार