समाज

राज्यमन्त्री बिमला प्रकरण: प्रदेश सरकारले थाल्यो छानविन, छानविन समिति तुलसीपुरमा

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वलीले तुलसीपुरकी एक महिला र नाबालिकालाई कुटपिट गरेको घटना प्रदेश सरकारले छानविन सुरु गरेको छ। प्रदेश सरकारले उक्त घटना छानविनका लागि बनाएको छानविन समितिले बुधबारदेखि छानविन सुरु गरेको हो। 

आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा रहेको छानविन समितिले घटनास्थलमै आएरै वास्तविकता बारे अनुसन्धान गरिरहेको जनाएको छ। संयोजक सञ्चारमन्त्री शर्मासहित समितिका सदस्यहरु ऋहिले तुलसीपुरमै आएर घटना बारे अनुसन्धान गरिरहेका छन्।  

यो समितिमा कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्ती र मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य छन्। ‘हामीहरुले घटना बारे अनुसन्धान सुरु गरेका छौँ,’ समितिका संयोजक सञ्चारमन्त्री शर्माले नागरिकसँग भने ‘अहिले नै घटना के भएको हो भनेर एकिन भन्न सकिने अवस्था छैन, अनुसन्धान पूरा भयो भने यकिन गर्न सकिने कुरा भयो।’ यो समितिलाई १५ दिन भित्र घटना बारे अनुसन्धान सम्पन्न गरेर सरकारलाई प्रतिवेदन बुझाउन भनिएको छ। ‘घटनाबारे अनसन्धान सुरु भएकाले अझै कति दिन लाग्छ? भनेर यकिन गर्न सकिने अवस्था छैन,’ मन्त्री शर्माले भने, ‘घटनाको यकिन तथ्य थाहा नहुँदासम्म अनुसन्धान चलिरहने कुरा हुन्छ।’ उनका अनुसार बुधबार पीडित महिला र उनको परिवार लगायत स्थानीयहरुसँग यो समितिले घटनाबारे सोधपुछ गरेको छ।  

राज्ममन्त्री वलीले तुलसीपुरका एकराज बस्नेतकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी ६ वर्षीया छोरीलाई गत जेठ ३१ गते घरमै प्रवेश गरेर कुटपिट गरेकी थिईन्।घटना लगत्तै राज्यमन्त्री वलीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको थियो। घटना बारे अनुसन्धानका लागि उसैदिन जिल्ला प्रहरी कार्यालयमा ल्याइएकी राज्यमन्त्री वलीलाई राती बुटवल पुर्‍याइएको थियो।

प्रकाशित: ८ असार २०७९ १०:४८ बुधबार