समाज

चितवन राष्ट्रिय निकुञ्ज आसपासमा वन्यजन्तुको आक्रमण तीव्र

११ महिनामा २४ काे मृत्यु, ४३ घाइते

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती तथा वनक्षेत्रमा वन्यजन्तुको आक्रमण बढ्दै गएको छ। चालु आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा वन्यजन्तुको आक्रमणबाट २४ जनाको मृत्यु भएको छ। गत आव २०७७/०७८मा भन्दा १२ जना बढीको मृत्यु  भएको हो। गत आवमा १२ जनाको मृत्यु भएको थियो। आर्थिक वर्ष २०७६/०७७मा वन्यजन्तुको आक्रमणबाट ९ जनाको मृत्यु भएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ।  

चालु आवमा ४३ जना घाइते भएको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ। निकुञ्जका अनुसार, चालु आर्थिक वर्षमा बाघको आक्रमण तिब्र बढेको छ। बाघले मात्रै १६ जनाको ज्यान लिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। उनका अनुसार निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा १४ र डिभिजन वन कार्यालय, नवलपरासी(बर्दघाट सूस्ता पूर्व)मा २ जनाको बाघको आक्रमणबाट मृत्यु भएको छ।  गैंडाको आक्रमणबाट ५ र जंगली हात्तीको आक्रमणबाट ३ जनाको मृत्यु भएको छ।  

वनमा घास काट्न गएको समयमा अधिकांश घट्ना घटेको छन्। निकुञ्जको तथ्याङ्क अनुसार, १५ जनालाई वनका घास काट्न गएको समयमा वन्यजन्तुले आक्रमण गरेर मारेको छ। त्यस्तै निकुञ्जको सुरक्षामा खटिएका ३ जना कर्मचारीको वन्यजन्तुको आक्रमणबाट मृत्यु भएको छ। २०७८ माघ २८ गते एम्बुस कारवाहीमा खटिएका जैमिनी ८, बाग्लुङका गुप्तबहादुर थापालाई जंगली हात्तीको आक्रमणमा परि मृत्यु भएको थियो। 

त्यस्तै डिउटीमा खटिएका त्रियुगा ११ गाईघाटका पवन कटुवालको  गैडाको आक्रमणबाट मृत्यु भएको थियो। उनको मृत्यु फागुन १२ गते भएको हो। बाघको आक्रमणबाट कसराको हात्तीसारमा कार्यरत रमेश चौधरीको मृत्यु भएको थियो। बैशाख १६ गते हात्तीसारमा काम गरिरहेकै अवस्थामा बाघले आक्रमण ज्यान लिएको हो।  

यस्तै निकुञ्जमा धानवाली संरक्षण क्रममा, देउसी भैलो खेल्न जाने क्रममा, पुजा गर्न जाने क्रममा वन्यजन्यन्तुलबाटएक एक जनाको मृत्यु भएको छ।  

यो अवधिमा वन्यजन्तुको आक्रमणबाट पशुका ९२, घरगोठमा १८, अन्नभण्डारमा ४ र खाद्यन्न बालीमा ३२६ वटा घटना भएका छन्।  चालु आवमा मानवीय क्षति, पशु क्षति,  घरगोठ क्षति र भण्डारण गरिएको अन्नको क्षतिवापत निकुञ्जले १ करोड ९० लाख ३१ हजार ८८९ क्षतिपूर्ति तिरेको छ।  

निकुञ्जभित्रका वन्यजन्तुले मानव, पशु तथा अन्नबाली र भौतिक संरचनामा क्षति पुर्‍याएमा पीडित परिवारलाई राहत वितरण गरिँदै आएको छ। चालु आवको ११ महिनामा महिनामा मृत्यु भएका १३ जनालाई राहत रकम वितरण गरेको छ। तर, बाँकी ११ जनालाई दिन बाँकी रहेको निकुञ्जका प्रमुख हरिभद्र आचार्यले जानकारी दिए।  ‘हामीले छुट्टाएको बजेट सकिएको छ। बजेट निकाशाका लागि विभागमा पत्र पठाएका छौँ,’ उनले भने ‘आउँदा वित्तिकै वितरण  गर्दछौँ।’

त्यस्तै वन्यजन्तुबाट घाइते भएका पीडितलाई २८ लाख १८ हजार, पशुक्षतिको १० लाख ७८ हजार, घर गोठको १ लाख १७ हजार, अन्न भण्डारको ३५ हजार ४४०, र खाद्यन्नबालीको १९ लाख ८३ हजार रकम उपलब्ध गराएको छ।  

मानव बस्ती तथा मध्यवर्ती क्षेत्रमा वन्यजन्तुले मानवीय र भौतिक क्षति पुर्‍याएमा पीडित पक्षलाई राहतदिने व्यवस्था छ। निकुञ्ज भित्रका वन्यजन्तुको आक्रमणबाट मृत्यु भएमा पीडित परिवारलाई १० लाख रूपैयाँ दिने निकुञ्जको निर्देशिकामा उल्लेख छ।

त्यस्तै सामान्य घाइतेको अवस्थामा २० हजार, गम्भीर घाइतेको न्यूनतम दुई लाख वा सरकारी अस्पतालको सिफारिसमा घाइतेको उपचारमा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने गर्दछ। जंगली जनावरले अन्नबालीमा क्षति पुर्‍याएमा बढीमा १० हजार, घरगोठ भत्काएमा १० हजार र पशुधनको क्षति गरेमा ३० हजारसम्म राहत रकम उपलब्ध गराउने निर्देशिकामा उल्लेख छ। राहत पाउन घटना भएको ३५ दिन भित्र आवश्यक कागज पत्रसहित निकुञ्जमा निवेदन दिनुपर्ने हुन्छ।

त्यस्तै पशुधन क्षति शीर्षकमा सात लाख ८५ हजार तथा घरगोठ शीर्षकमा ४२ हजार वितरण गरिएको छ। वन्यजन्तुले अन्न भण्डारण र खाद्यन्न बालीमा क्षति पुर्‍याएका परिवारलाई १६ लाख २१ हजार प्रदान गरिएको छ। निकुञ्जबाट निस्कने बाघ, चितुवा, हात्ती, गैँडा, गोही, बँदेल, भालुलगायत जङ्गली जनावरले मानवीय तथा भौतिक क्षति पुर्‍याउने गरेका छन्।

प्रकाशित: ७ असार २०७९ १५:२१ मंगलबार