समाज

यात्रुबहाक बसभित्र एसिड पोखिँदा ५ जना घाइते

मंगलबार दिउँसो विराटनगरबाट रंगेलीतर्फ जाँदै गरेको यात्रु वहाक बसभित्र एसिड पोखिँदा ५ जना घाइते भएका छन्।  

को १ ख ३९८१ नम्बरको बसभित्र एसिड पोखिए ५ जना घाइतेको मोरङ प्रहरीका प्रवक्ता डिएपसी दीपक श्रेष्ठले बताए। घटनामा परेर घाइते हुनेमध्ये ४ जना बसका यात्रु हुन् भने १ जना बसका सहचालक हुन्।  

बसभित्र एसिड पोखिँदा मोरङको सुनवर्षी नगरपालिका–४ की २२ वर्षीया निता राजवंशी, सुनवर्षी–९ की २२ वर्षीया सविहा खानम, धनपालथान गाउँपालिका–५ का ४२ वर्षीय ओमनारायण राजवंशी, सुनसरी बराहक्षेत्र नगरपालिका–८ की ४० वर्षीया सुमित्रा उराउ र भोजपुरको अरुण गाउँपालिका–१ याङपाङका २० वर्षीय विनोद परियार घाइते भएको प्रहरीले जनाएको छ।  

निताको दाहिने खुट्टा, अनुहार र घाँटीमा चोट लागेको छ भने अन्य घाइतेको शरीरका विभिन्न भागमा चोट छ। घाइतेहरुको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये विनोद बसका सहचालक हुन्। कटहरी–४ का अन्दाजी २५ वर्षीय राहुल साहले प्लाष्टिकको बोतलमा बोकेको एसिड बसभित्र पोखिएको हो।  

रंगेली जाँदै गर्दा कटहरी चोकमा चालकले अचानक ब्रेक लगाउँदा बोतलको बिर्को खुलेपछि छचल्किएर पोखिँदा एसिड लागेको र एसिड बोकेर हिँड्ने साह घटनापछि फरार भएका कारण खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। फरार भएका साहको बारेमा थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: ७ असार २०७९ १४:१३ मंगलबार