समाज

डिजेल बढ्दा सिँचाइ महँगो, किसान चिन्तित

सिँचाइका लागि पर्याप्त योजना नहुँदा कैलाली र कञ्चनपुरका किसानले खेतबारीमा डिप बोरिङ र पम्पसेटबाट पानी तानेर कृषि कर्म गर्दै आएका छन्। खेतीपातीका लागि आवश्यक सिँचाइ गर्न पम्पसेटमा इन्धनको प्रयोग आवश्यक पर्छ। त्यही इन्धन (डिजेल) को मूल्यवृद्धिले गर्दा सबैभन्दा बढी मारमा किसान पर्न थालेका छन्। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गर्दा किसानलाई सिँचाइका लागि समस्या परेको हो।  

पम्पसेटबाट पानी तान्नेर खेत सिञ्चित गर्नका लागि चाहिने इन्धन (डिजेल)को मूल्य प्रतिलिटर १ सय ९२ रुपैयाँ हुँदा धान रोपाइँका लागि किसानलाई सकसलेको छ। बेमौसमी तरकारी खेतीदेखि अन्न उत्पादन गर्नसम्मका लागि खेतबारीमा पानी नभई नहुने बताउँदै चौमालाका किसान राजेन्द्र चौधरीले भने, ‘हप्तैपिच्छे डिजेलको भाउ बढिरहेको छ, यही अनुपातमा गयो भने हामीलाई खेतीपाती गर्नै समस्या पर्ने भयो।’

अन्न उत्पादनका लागि होस् या तरकारी बालीका लागि, सबै बालीनालीका लागि सिँचाइ महŒवपूर्ण रहेको बताउँदै अर्का किसान तुलाराम चौधरीले भने, ‘धान रोप्नका लागि हामीकहाँ नहर तथा कुलो छैन, सबै पम्पसेटकै भरमा हो, त्यही पम्पसेट चलाउने इन्धन महँगिँदा धान उत्पादनको लागत बढ्ने भयो।’ सिँचाइ पर्याप्त नहुनु र किसानले सिँचाइका लागि पम्पसेटको प्रयोग गर्दा कृषि क्षेत्रमा लागत बढ्ने उनले बताए। ‘सिँचाइका लागि नहर, कुलो, नाला नहुनु र पम्पसेटकै भर पर्नुले कृषिमा लागत अत्यधिक बढ्ने भयो,’ उनले भने, ‘यदि सरकारले किसानलाई सिँचाइका लागि प्रयोग गरिने इन्धनमा केही सहुलियत दिन सके राहत हुन्थ्यो।’

सिँचाइका लागि मात्रै नभई खनजोत गर्नका लागि ट्याक्टरको लागत पनि महँगो पर्न जाने बताउँदै मसुरियाका अगुवा किसान रमेश भाटले भने, ‘धान रोपाइँका लागि आवश्यक पर्ने पानी तान्न पम्पसेटका लागि डिजेल महँगो मात्रै पर्ने नभई खनजोतका लागि ट्याक्टरको लागत पनि बढ्ने भयो, जसले सबैतिरबाट किसानलाई नै मर्का पर्ने भयो।’ अब सरकारले सौर्य ऊर्जा तथा विद्युत् प्रयोग गरेर सिँचाइका लागि सहयोग गर्नुपर्ने उनले बताए। ‘डिजेल भारतबाटै ल्याउनुपर्छ, जसले गर्दा स्वदेशी मुद्रा बाहिर गइरहेको छ,’ उनले थपे, ‘त्यसको साटो सौर्यऊर्जा तथा विद्युत्बाट पानी तान्ने मेसिनको प्रयोग गरे किसानलाई सस्तो मात्रै नभई मुद्रा बाहिरिन रोकिन्थ्यो।’ महँगोमा डिजेल किनेर पम्पसेटबाट पानी तानेर बिउ राख्नुपर्ने मात्रै नभई रोपाइँ गर्दा बढी खर्चिलो हुने र उत्पादन खर्च बढ्ने गरेको उनी बताउँछन्। उनले गरिब किसानलाई पम्पसेटबाट सिँचाइ गरेर ब्याड राख्न र रोपाइँ गर्न महँगो पर्ने गरेको बताए।

सिँचाइका लागि किसानले खोलाको पानी बोरिङबाटै पम्पिङ गरेर बिउ राख्नुपर्ने र रोपाइँ गर्नुपर्ने बाध्यता रहेको सुनाउँदै उनले भने, ‘धेरै किसानसँग त आफ्नै बोरिङ नहुँदा अरुको बोरिङबाट घण्टाका हिसाबले पानी लगाउनुपर्ने बाध्यता छ।’ उनले वास्तविक किसानले सिँचाइमा समेत अनुदान नपाएको गुनासो पोखे। ‘सरकारले सिँचाइका लागि अनुदानका कार्यक्रम दिने गरेको बताए पनि साना किसानले भने अहिलेसम्म त्यो सुविधा पाउन सकेका छैनन्,’ उनले भने, ‘फेरि महँगिंदो डिजेलले पम्पसेटबाट सिँचाइ खर्चिलो हुने गरेको छ।’

कृषि निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशीका अनुसार डिजेल हालेर खेती गर्दा लागत महँगो पर्ने र किसानले बजारसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था आएको छ। ‘डिजेल हालेर धान रोप्नु मात्रै नभई रोपिसकेको धानका लागि चाहिने पर्याप्त पानी नपर्दा पुनः सिँचाइका लागि पटकपटक पम्पसेट चलाउनुपर्ने बाध्यता आउन सक्छ,’ उनले भने, ‘जसले गर्दा महँगोमा डिजेल किनेर सिँचाइ गर्दा धानको उत्पादनको लागत बढ्न जान्छ।’ धानको उत्पादनको लागत बढेको किसानले पुनः सस्तोमै बेच्नुपर्दा किसान घाटामा जाने निश्चित रहेको उनी बताउँछन्।

सुदूरपश्चिम प्रदेशमा कुल खेतीयोग्य जमिनमध्ये ३३ प्रतिशत जमिनमा मात्रै पूर्ण सिँचाइ र २० प्रतिशत जमिनमा आंशिक सिँचाइ हुने गरेको छ। यस्तै बाँकी ४७ प्रतिशत जमिन भने आकासेपानीकै भरमा खेती हुने गरेको छ। कृषिलाई आधुनिकीकरण गरी कृषिमै समृद्धि खोज्न थालेको प्रदेश सरकारले अहिलेसम्म किसानलाई आवश्यक सिँचाइका लागि सहुलियतको व्यवस्था गर्न नसक्दा वास्तविक किसान मर्कामा परेको पनि उनले बताए।

प्रकाशित: ७ असार २०७९ ०१:३६ मंगलबार