समाज

बुटवलमा चुरेको पहिरो रोक्न वृक्षारोपण

चुरे पहाडको पहिरो रोक्नका लागि बुटवलको ज्योतीनगर क्षेत्रमा वृक्षारोपण गरिएको छ। बुटवलको ज्योतिनगरस्थित चुरे पहाडबाट पहिरो खसेको ठाउँमा पर्खाल लगाउनुका साथै वृक्षारोपण गरिएको हो।  

बिहीबार चुरे दिवसको अवसरमा बुटवल उपमहानगरपालिकाको आयोजना, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाइ बुटवल र नेपाली सेनाको श्री गरुड दल गण रामनगर ब्यारेक बुटवलको सहकार्य र समन्वयमा बाँसका बिरुवा रोपिएको छ।  

पहिरो रोकथामका लागि पर्खाल लगाइएको क्षेत्र आसपासमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, नेपाली सेनाका जवान र स्थानीयसहितको टोलीले बाँसका बिरुवा रोपेको हो।  

बिरुवा रोपेपछि नगरप्रमुख पाण्डेले ज्योतिनगर क्षेत्रको पहिरो रोकथामका लागि पर्खाल लगाउने, पानीको बहाब परिवर्तन गर्ने र वृक्षारोपण गरिएको बताए। ‘यो पहिरो बुटवलकै लागि जोखिम बनेको छ, यसलाई रोक्न प्राविधिकहरुको सल्लाहअनुसार तारजालीसहितको पर्खाल लगाउने, पानीको बहाब परिवर्तन गर्ने र वृक्षारोपण गर्ने गरेका छौं,' उनले भने, 'यसो गर्दा पहिरो नियन्त्रण हुन्छ भन्ने विश्वास प्राविधिकहरुले दिलाउनुभएको छ, त्यसमा हामी विश्वस्त छौं,’ नगरप्रमुख पाण्डेले भने।

उनले पहिरोको जोखिम कम गर्न र दीर्घकालीन रुपमै समाधान गर्नका लागि बिरुवा रोप्ने र संरक्षण गर्ने काममा नगरले ध्यान दिएको बताए। राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको साथ  र सहयोगमा स्थानीयलाई जोखिमबाट मुक्त गर्ने काममा स्वयम स्थानीय नेपाली सेना सबै मिलेर अगाडि बढीरहेको उनले बताए। नगर पालिकाका वरिष्ठ अधिकृत भुवाप्रसाद लुइटेलले पहिरो नियन्त्रणमा बुटवल उपमहानगरपालिकाले निरन्तर रोकथामका कार्यक्रम र जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिरहेको बताए।  

बुटवल उपमहानगरपालिका विपद् व्यवस्थापन महाशाखाका प्रमुख इन्जिनियर योगेश चापागाईका अनुसार ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा भूक्षय नियन्त्रणका लागि ९ सय वटा बाँसका बिरुवा रोपिएको बताए। उनले बाँस छिटो हुर्किने र पहिरो रोक्नका लागि उपयोगी हुने भएकाले बाँसका विरुवा रोपेको बताए।  

वृक्षरोपण कार्यक्रममा बुटवल वडा नं ३ का अध्यक्ष विष्णु ढकाल, ४ का अध्यक्ष नरिश्वर शर्मा, ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाइ बुटवलका प्रमुख राजन रेग्मी, नेपाली सेनाको श्रीगरुड दल गण रामनगर ब्यारेक बुटवलका निमित्त गणपति मेजर मनोज डंगोल, मेजर कुवेर कार्कीलगायत नेपाली सेनाका जवान तथा स्थानीयहरुले चुरे संरक्षणका लागि वृक्षारोपण गरेका हुन्।

प्रकाशित: २ असार २०७९ ०६:४९ बिहीबार