समाज

सरकारी कार्यालयमा छैनन् अग्नि नियन्त्रक साधन

शनिबार नापी कार्यालयमा भएको आगलागी।

शनिबार नापी कार्यालयमा भएको आगलागीले केही महत्त्वपूर्ण कागजातसहित साधनहरू पनि जले। नापी कार्यालय बाँकेको सर्भर कक्षमा आगलागी भएर सबै नेटवर्क ध्वस्त भएपछि कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द भएको छ।

अब डाटा, सर्भर र कार्यालयको नेटवर्किङ सिस्टम पुनः स्थापित नभएसम्म कार्यालयको काम हुने छैन। समयमै आगलागी नियन्त्रण भएकाले ठूलो क्षति हुनबाट जोगिएको छ। नभए नागरिकको सम्पत्तिका महत्त्वपूर्ण कागजात रहेको तल्लो तलामा आगलागी फैलिएको भए त्यसले निम्त्याउने क्षतिको कल्पना गर्न सकिँदैनथ्यो।

आगलागी विद्युत् सर्ट भएर भएको अनुमान गरिए तापनि कमसल वाइरिङ र विद्युतीय सुरक्षाका विकल्पहरू पनि पर्याप्त व्यवस्था नभएकाले आगलागी भएको देखिन्छ। आगलागी भवितव्य र मानवनिर्मित दुवै कारणले हुने त्यसको रोकथामका साधनहरूको पर्याप्त व्यवस्था हुनुपर्छ।

भवन निर्माण मापदण्डका अनुसार भवन निर्माण गर्दा अग्नि सूचक यन्त्र र अग्नि नियन्त्रणका लागि कार्बनडाइअक्साइड वा फोमयुक्त साधनहरू अनिवार्य राखिएको हुनुपर्छ। तर, बाँकेमा रहेका सरकारी कार्यालयहरूमा अग्नि नियन्त्रणसम्बन्धी साधनहरूको उपलब्धता नै छैन भने भएका कार्यालयमा पनि तिनको प्रयोग भएको छैन।

झन् मालपोत र नापीजस्ता कार्यालयहरूमा अग्निबारे अति संवेदनशीलता अपनाउनुपर्ने र अनिवार्य अग्नि नियन्त्रक यन्त्रहरू राख्नुपर्ने अग्नि नियन्त्रण विज्ञ किशोरकुमार भट्टराई बताउँछन्। जनताका सम्पत्तिको महत्त्वपूर्ण प्रमाणहरू रहने नापी र मालपोतजस्ता कार्यालयहरूमा आगोको एकै झोक्काले ठूलो क्षति पुर्‍याउन सक्छ।तर यी कार्यालयमा आगलागी भइहालेमा तत्काल नियन्त्रणमा लिने उपायहरूको व्यवस्था छैन।

शनिबार आगलागी भएको नापी कार्यालयमा पनि अग्नि नियन्त्रक यन्त्र नै छैन। त्यस्तै जनताका महत्त्वपूर्ण कागजी प्रमाणहरू रहने मालपोत कार्यालयमा पनि उक्त यन्त्र राखिएको छैन। मालपोत कार्यालयका प्रमुख छविलाल नेपालीले अग्नि नियन्त्रक यन्त्रको प्रयोगबारे जिज्ञासा राख्दा अनभिज्ञता प्रकट गरे। उनले भने, ‘छन त छ तर स्टोरमा हुनुपर्छ।म तिनलाई उपयुक्त स्थानमा राख्न लगाउँछु।’

स्थानीय तहका कार्यालयहरूमा अग्नि नियन्त्रणका साधनहरू राखिएको छैन। ‘कुनै पनि सरकारी कार्यालयले अग्नि नियन्त्रणलाई गम्भीरतापूर्वक लिएको पाइँदैन। यसमा राज्यको उदासीनता देखिन्छ,’ अग्नि नियन्त्रण विज्ञ भट्टराई भन्छन्। अग्नि नियन्त्रणका लागि सरकारी कार्यालय र मानिसहरूको बढी चहलपहल हुने निजी भवनहरूमा अनिवार्य रूपमा कार्बनडाइअक्साइडयुक्त अग्नि नियन्त्रक यन्त्र राख्नुपर्ने उनले बताए।

उक्त यन्त्र पनि प्राथमिक उपचारजस्तै भएकाले हरेक ठूला भवन र कार्यालय वा सहरका निश्चित दूरीमा पानी निकाल्नका लागि फायर हाइड्रेन्टहरू राख्नुपर्ने उनले बताए। सबै वस्तुमा लागेको आगोलाई पानीले नै नियन्त्रण गर्न नसक्ने भएकाले स्थानीय सरकारसँग फोमबाट आगो निभाउन सक्ने दमकल हुन आवश्यक रहेको पनि भट्टराईले बताए। हाल नेपालगन्जमा एउटा दमकलमा फोम प्रयोग गर्न सकिने व्यवस्था रहेको छ।

यसैगरी आगोको जोखिममा रहेका कार्यालयहरूमा कर्मचारीहरूलाई अग्नि नियन्त्रणसम्बन्धी सामान्य अभिमुखीकरण गरिनु पनि आवश्यक रहेको उनको भनाइ छ। बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले अब अग्नि नियन्त्रक यन्त्रलाई कार्यालयमा अनिवार्य रूपमा राख्नुपर्ने बताएका छन्। यस विषयमा कार्यालय प्रमुखहरूको बैठकमा निर्देशन दिइने उनले बताएका छन्।

प्रकाशित: १ असार २०७९ ०५:४२ बुधबार

सरकारी कार्यालय छैनन् अग्नि नियन्त्रक साधन