समाज

भेरी नदीमा उद्धार अभ्यास

भेरी नदीमा उद्धार कार्यको कृतिम अभ्यास गर्दै नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र रेडक्रसकर्मीहरु। तस्बिरः गोविन्द/नागरिक

वर्षेनि पौडने क्रममा बगाएर धेरैको ज्यान लिएको भेरी नदीमा आइतबार दिउँसो बग्ने र उद्धार गर्ने अभ्यास चलिरहँदा स्थानीयहरु दंग परे। अभ्यासका लागि बगेकाहरु ठूलो स्वरमा ‘गुहार’ माग्दै नदी बीचमा हात उठाएर सहायता माग्दै थिए। त्यसको लगत्तै उद्धारका लागि सशस्त्र प्रहरी बलको रक्तकाली गणबाट पुगेका उद्धार टोली नदी किनारबाट र्‍याफ्टिङ र झुलुङ्गे पुलबाट डोरीको सहायताले नदीमा पुगे।

दुई स्थलबाट उद्धारमा खटिएका प्रहरीहरुले बगेर आएका युवाहरुलाई बचाए। नदी किनारमा तयारी अवस्थामा रहेका नेपाल रेडक्रस, नेपाल प्रहरी र नेपाली सेनाले उद्धार गरी नजिकै डेमोका लागि राखिएको अस्थाई उपचार क्यापमा लगे। लगत्तै घाइतेको उपचार क्षतिपूर्तिको मागसहित स्थानीयहरुले आन्दोलन गरे। उपचार र क्षतिपूर्ति दिने बचन पाएपछि आन्दोलन रोकियो। सबै विपद्को पूर्वतयारीसहितको जानकारी लिएर फर्के।

यसरी भेरी नदी किनारमा विपद् पूर्वतयारी तथा प्रतिकार्य कृतिम घटनाको अभ्यास गरियो। भेरी नदी आसपासका स्थानीयहरु भेरीमा केही बगेको खवर पाएपछि रियल रुपमा उद्धारमा खटिन्थे तर, यसपालि उनीहरु नदीमा साच्चै होइन कृतिम उद्धारको घटनाको अभ्यास अवलोकनमा सहभागी भएका थिए।

पौडी खेल्न सिपालु स्थानीयहरु सुरक्षा सावधानीविनै उद्धार गर्थे तर, यहाँ कृतिम अभ्यासमा सुरक्षा सावधानी देखेर अचम्मित भए। यस्तो अभ्यासमा सुरुमा उद्धारकार्यमा खटिने स्थानीय पौडीबाजहरुलाई सहभागी गराए अँझ प्रभावकारी हुने लेकबेंशी नगरपालिका–१ का डिलबहादुर घलेले बताए।  

जिल्ला विपद् ब्यवस्थापन समिति सुर्खेतको आयोजनामा विपद् पूर्वतयारी तथा प्रतिकार्य कृतिम घटना अभ्यास कार्यक्रम भेरीगंगा र लेकबेंसी नगरपालिका सीमा भेरी नदीमा गरिएको हो। कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालको नं ३२ गण हेडक्वाटर, रक्तकाली गण सुर्खेत, नेपाल प्रहरी, नेपाल रेडक्रस, स्थानीय पालिकाहरु, संघिय तथा प्रदेशका कार्यालयहरु, विभिन्न संघसस्थाहरुको समन्वयमा विपद् पूर्वतयारी अभ्यासको कार्यक्रमहरु गरिएको थियो।

विपद् पुर्वतयारी अभ्यासले अँझ विपद्का बेला उद्धारकार्यमा निकै सजिलो हुने सशस्त्र प्रहरी बलको सुर्खेतस्थित रक्तकाली गणका गणपति (एसपी) विमल डाँगीले बताए। अभ्यास कार्यक्रममा विपद्का बेला खानेपानी मुहान फोहोर हुने हुँदा कसरी सफा पार्ने त्यसको विधिहरु, विद्यार्थीहरुलाई अल्पकालीत शिक्षा कसरी दिने, अस्थाई पालका घरहरु, स्वास्थ्य सेवा लगायतका कुराहरु प्रयोगात्मक रुपमा देखाइएको थियो।

प्रकाशित: २९ जेष्ठ २०७९ १४:०५ आइतबार