समाज

बञ्चरेडाँडा संघर्ष समितिकाे आन्दोलन रोकियो, आजबाटै फोहोर फाल्न दिने

बञ्चरेडाँडा संघर्ष समितिले आजबाटै काठमाडौं उपत्यकाको फोहोर फाल्न दिने भएको छ। बञ्चरेडाँडा ल्याण्डफिल साइट पीडित संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेपछि काठमाडौंबाट गएका ट्रकहरुलाई ल्याण्डफिल साइटमा फोहोर फाल्न दिइएको हो।

शहरी विकास मन्त्रालयमा शुक्रबार बिहान भएको वार्तामा सहरी विकास मन्त्री रामकुमारी झाक्री, संघर्ष समितिका संयोजक श्रीराम ढुंगानासहित काठमाडौंका सांसदहरूको उपस्थिति रहेको थियो।

शुक्रबार विहान भएको छलफलमा शहरी विकास मन्त्री रामकुमारी झाक्रीले प्रतिवद्धतापत्र सार्वजनिक गर्ने बाचा गरेकी थिइन्। यस्तै, नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत लगायतका नेताहरुले पनि संघर्ष समितिको माग सम्बोधनका लागि गम्भीर पहल गर्ने आश्वासन दिएको संघर्ष समितिका संयोजक ढुंगानाले बताए।

प्रभावित क्षेत्र निर्धारण गर्न विज्ञ टोली, जनप्रतिनिधि र स्थानीय बासिन्दाको संलग्नतामा वातावरणीय प्रभाव मूल्यांकन गर्ने र त्यसको प्रतिवेदन आइसकेपछि अधिग्रहण सुरू गरिने बताइएको छ।

प्रकाशित: २७ जेष्ठ २०७९ १२:०८ शुक्रबार