समाज

अवरुद्ध राजमार्गका यात्रुको पीडा: २७ घण्टासम्म राजमार्गमै

न खाना, न शौचालय

पोखरा–मुग्लिन एकतर्फी खुलेपछि पहिरो पार गर्नेको भीडभाड। तस्बिरः नरहरि सापकोटा/नागरिक

पोखराका पर्यटन व्यवसायी सन्तोष पोखरेलले विहीबार मध्यान्हतिर काठमाडौं छाडे। सरासर आउन पाएको भए काठमाडौंबाट दुइसय किलोमिटर टाढाको पोखरासम्म उनी बिहीबार बेलुकी नै आइपुग्थे। तर, पोखरेल शुक्रबार दिउँसो ३ बजेसम्म जसोतसो मुग्लिन पार गरेर केही अगाडि मात्र बढेका थिए।  

मुग्लिन–आँबुखैरनीको पहिरोस्थलमा आइपुग्दा पोखरेलले राजधानी छाडेको २७ घण्टा बितिसकेको थियो। यो अवधिमा उनले न राम्रोसँग खान पाए, न शौचालय जान पाए, सुत्न पाउनु त परैको कुरा। निजी गाडीमा काठमाडौंबाट हिडेका पोखरेलसँग उनकी श्रीमति मात्र थिईन। ‘योपटक निकै नै सकस खेप्यौ। अझै कति समय रोकिनुपर्ने भन्ने यकिन छैन,’ पहिरोस्थलमा रोकिएका पोखरेलले भने, ‘यात्रुको विचल्ली छ। विदेशी पर्यटक घन्टौदेखि भोकभोकै छन्। कतिपय यात्रु ३० घण्टादेखि सडकमै रोकिएका छन्।’

पोखरेल दम्पति विहीबार बेलुकीदेखि राजमार्गमा फँसेका थिए। मुग्लिन–काठमाडौं खण्डको कुरिनटारमा झरेको पहिरोले सुरुमै रोकिएका उनीहरु रातभर कुरिनटारमा बिताए। जसोतसो खुलेको पहिरो र सवारी पार हुँदै जाँदा बिहानपख मुग्लिन मात्र कटेका के थिए, पोखरेल दम्पति पुनः आँबुखैरेनीको पहिरोको मारमा परिहाले। बिहीबार बिहान साढे चारबजेतिर तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस नजिक राजमार्ग नै त्रिशुली नदीमा खस्दा दिनभर सडक अवरुद्ध भयो।  

‘हामीले कम्तिमा २७ घण्टासम्म राजमार्गमा बितायौ। हामीसँगै अघिपछि गुडेका सवारी अहिले पनि सँगै छन्, निकै नै सास्तीपूर्ण यात्रा गर्नुपर्‍यो,’ पोखरेलले भने, ‘मुख्य राजमार्गमा यतिसम्मको अस्तव्यस्त अवस्था आइपर्‍यो की कतै गुहार पाउने अवस्था थिएन।’ काठमाडौं छाड्ने बेलामा खाना खाएपनि त्यसपछि राम्रोसँग खान पनि नपाएको पोखरेलले सुनाए। ‘२७ घण्टा देखि राजमार्गमा रोकिदाँ खाने भन्ने कुरै छैन। मात्र पेट भर्ने हो, जे पाइन्छ, त्यही खाने हो,’ उनले भने, ‘सबैभन्दा सकस बिरामी, वृद्धवृद्धा, बालबालिकालाई छ। विदेशी पर्यटक पनि उत्तिकै मारमा छन्।’

विहान भएपनि शौचालय खोज्दै विदेशीहरु हिडिरहेको देखेको उनले बताए। ‘राजमार्गमा व्यवस्थित शौचालय कतै छैन। दिशापिसाबको समस्या छ। विदेशीले शौचालय जान नपाएर सकस खेपे,’ उनले भने, ‘राजमार्गमा कतै राम्रो खाना खाने ठाउँ छैन, सबैतिर बिजोग छ।’  

पोखरेलले मात्र नभई पोखराबाट काठमाडौं हिडेकी राधिका कँडेलले पनि उत्तिकै सास्ती खेपिन । सामान्यतया पोखरा–काठमाडौं पाँचघण्टाको यात्रा हो। सडकमा समस्या हुँदा यो दूरी पार गर्न पछिल्लो समय आठघण्टासम्म लाग्ने गरेको छ। तर, बिहीबार बिहान ८ बजे पोखराबाट काठमाडौंका लागि बसमा हिडेकी कँडेल शुक्रबार बिहान ५ बजे जसोजसो राजधानी पुगिन्। पोखरा–काठमाडौं दुरी पुरा गर्न कम्तिमा २१ घण्टा लागेको उनले बताईन्।  

‘सामान्य अवस्थामा ६/७ घण्टामा पार गरिने दुरी यो पटक पार गर्न २१ घण्टा लाग्यो। पहिरोले पारेको जाम भन्दा राजमार्गमा जथाभावि तेर्साउने सवारीले अप्ठेरो पार्ने गरेको छ,’ कँडेलले भनिन्, ‘पहिरो पन्छाएको घन्टौसम्म पनि सवारी चल्ने अवस्था रहन्न। यस्तोमा स्थानीय प्रशासनको सक्रियता नै देखिन्न।’ कुरिनटारको पहिरोमा फँसेकी उनले पहिरो पन्छाइसक्दा पनि यात्रा सहज नभएको बताईन। ‘पहिरोको समस्या भन्दा अस्तव्यस्त गाडीको भीडभाडले घन्टौ समस्या पार्‍यो। जथाभावि गाडीले ओभरटेक गर्ने, तर, त्यसलाई व्यवस्थापन गर्न नजान्दा यात्रुलाई सास्ती हुने गरेको छ,’ उनले भनिन्।  

प्रकाशित: २७ जेष्ठ २०७९ ११:४३ शुक्रबार

अवरुद्ध राजमार्ग यात्रुको पीडा