समाज

राक्सिराङलाई चेपाङ संरक्षित क्षेत्र घोषणा गर्न माग

कार्यपालिका बैठकका सहभागीहरु।

मकवानपुरको राक्सिराङ गाउँपालिकालाई चेपाङ संरक्षित क्षेत्र घोषणा गर्न माग गरिएको छ। बुधबार भएको राक्सिराङ गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले अति विपन्न र सिमान्तकृत चेपाङ जातिको बाहुल्यता रहेको राक्सिराङलाई चेपाङ संरक्षित क्षेत्र घोषणा गर्न प्रदेश र संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो। 

यस गाउँपालिकामा चेपाङ जातिको बाहुल्यता रहेको छ। गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा भएको कार्यपालिका बैठकले गाउँपालिकालाई चेपाङ संरक्षित क्षेत्र घोषणा गर्दै विशेष कार्यक्रम सञ्चालन गरी समतामूलक, समावेशी तथा दीगो विकासका लागि प्रदेश सरकार तथा संघीय सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको हो।  

यस्तै राक्सिराङ आधारभूत अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागू गराउन पहल गर्ने निर्णय भएको छ। राक्सिराङ गाउँपालिकाबासीलाई स्वास्थ्य उपचार र सुविधामा बढोत्तरी गर्नका लागि गाउँपालिका अन्तर्गत रहेको राक्सिराङ आधारभूत अस्पतालमा नेपाल सरकारद्वारा लागू गरिएको स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने प्रकृया अगाडि बढाउने निर्णय गरेको हो। 

बैठकले गाउँपालिका अध्यक्ष संयोजक रहेको स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठन गरेको छ। अति गरिब तथा विपन्न परिवारका लागि नेपाल सरकारद्वारा लागू गरिएको स्वास्थ्य बीमा कार्यक्रमलाई वृद्धि गराउनुका साथै बीमाको लागि लाग्ने तोकिएको शुल्कको ७५ प्रतिशत रकम अनुदान स्वरुप गाउँपालिकाले उपलब्ध गराउने निर्णय गरिएको छ। 

राक्सिराङ गाउँपालिकामा बर्षेनी चट्याङ्बाट जनधनको क्षति हुने गरेको अवस्थालाई मध्यनजर गर्दै जनधनको क्षति न्यूनीकरण तथा रोकथामका लागि राक्सिराङ गाउँपालिकाबासी नागरिकहरुलाई सचेत रहन अपिल गर्ने, प्राविधिक अध्ययन समेत गराई प्रत्येक घरमा लाइटेनिङ एरेष्टर प्रविधि जडान गर्नको लागि अनुरोध गर्ने र सो जडान कार्यमा लाग्ने लागतमा प्रति परिवार ५ हजारका दरले गाउँपालिकाबाट अनुदान उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए। गाउँपालिकाले यसअघि जारी गरेको भूउपयोग नीतिको कार्यान्वयनका लागि खेतीयोग्य बाँझो जग्गा जमीनहरुको लगत संकलन गर्ने, बाँझो राखिएका जमीनहरुको हकमा कानून बनाई जरिवानाको दायरामा ल्याउने लगायतको निर्णय गरेको छ।

प्रकाशित: २५ जेष्ठ २०७९ १३:५३ बुधबार