समाज

दूधको ट्याङ्करले ठक्कर दिँदा एकजनाको मृत्यु

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको लोकन्थली चोकमा सोमबार भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।

भक्तपुरबाट काठमाडौतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२–०२५ प १६२० नं को स्कुटीलाई सोही दिशातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–००४ क ०५८० नं को दूधको ट्याङ्करले ठक्कर दिँदा स्कुटी चालक काभ्रेपलाञ्चोक बनेपा नगरपालिका वडा नं. ५ बस्ने वर्ष ४५ का नकुल थापाको मृत्यु भएको हो।

ठक्करपछि गम्भीर घाइते भएका उनलाई उपचारको लागि नागरिक अस्पताल थिमि लगिएकोमा उपचारको क्रममा साँंझ मृत्यु भएको घोषणा गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।  

दुर्घटनामा संलग्न सवारीसाधन र ट्याङ्कर चालक भक्तपुर नगरपालिका वडा नं. २ ब्यासी बस्ने वर्ष ३५ का राजन ब्यान्जुलाई नियन्त्रणमा लिएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए। घटना सम्वन्धमा थप अनुसन्धान कार्य भइरहेको उनले जनाए।

प्रकाशित: २३ जेष्ठ २०७९ १३:५४ सोमबार