समाज

विश्वव्यापी 'माटो जोगाऔँ' अभियानको समर्थनमा काठमाडौंमा साइकल र्‍याली

माटो जोगाऔँ अभियान के हो?

'माटो जोगाऔँ' नामक विश्वव्यापी अभियानलाई समर्थन गर्ने उद्देश्यले काठमाडौंमा साइकल र्‍याली गरिएको छ।

शनिबार सम्पन्न साइकल र्‍याली ईशा फाउण्डेशनका संस्थापक सद्‌गुरु जग्गी वासुदेवद्वारा पहल गरिएको ‘सेभ सोइल’ अर्थात् 'माटो जोगाऔँ' नामक विश्वव्यापी अभियानलाई समर्थन गर्ने उद्देश्यले जागरूक धरती नेपालको समन्वयमा साइकल सिटी नेटवर्क नेपालले आयोजना गरेको हो। र्‍यालीलाई वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले झण्डा फर्फराएर कार्यक्रमको उद्घाटन गरेका थिए।

९ सय जनाभन्दा बढी सहभागीसहित शनिबार बिहान ७ बजे सेन्ट जेभियर्स स्कूल परिसरबाट सुरु भएको साइकल र्‍याली पशुपतिनाथ परिसरमा समापन भएको थियो। जावलाखेलबाट सुरु भएको साइकल र्‍याली थापाथली, त्रिपुरेश्वर, जमल, दरबारमार्ग, कमलपोखरी, रातोपूल, पशुपतिनाथ परिसरमा विशेष कार्यक्रम गरी समापन भएको थियो।

त्यहाँ माटो जोगाऔँ अभियानका स्वयंसेवकहरू भेला भई अनिश थापाको सांगीतिक प्रस्तुतिमा सँगै नृत्य गरेका थिए। समापन कार्यक्रममा प्रमुख अतिथिको रूपमा वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादव, विशेष अतिथिको रूपमा वातावरण विभागका महानिर्देशक श्री गोपालप्रसाद अर्याल र सोही मन्त्रालयका प्रतिनिधि नवीन पोखरेल उपस्थित भएका थिए।

कार्यक्रममा उपस्थित सहभागीहरूलाई सम्बोधन गर्दै यादवले विश्वव्यापी माटो जोगाऔँ अभियानले वातावरण संरक्षणको लागि माटोको महत्वलाई समेत उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको बताए। कार्यक्रमका अध्यक्ष निरु रायमाझीले सहभागीहरूलाई सम्बोधन गर्दै उपस्थित अतिथिहरुमाँझ माटो जोगाऔँ अभियानलाई प्रवर्द्धन गर्न अनुरोध गरिन्।

माटो जोगाऔँ अभियान के हो?

माटो जोगाऔँ विश्वव्यापी अभियान हो, जसले हाम्रो माटो र धरती जोगाउनको लागि जागरूक दृष्टिकोणसहित काम गर्न प्रोत्साहन गर्दछ। सर्वप्रथम, यो जन–अभियान हो। यस अभियानले विश्वभरिबाट ३.५ अर्ब मानिसहरू (विश्वभरिका ६० प्रतिशत मतदाताहरू)को समर्थन जुटाउने अनि माटोलाई पुनः जीवन्त पार्न र माटोको विनाश रोक्नको लागि नीतिगत कार्यहरू सुरु गर्न विश्वभरिका सरकारहरूलाई सघाउने उद्देश्य लिएको छ।

विश्वका नेतृत्वकर्ताहरू, प्रभावशाली व्यक्तिहरू, कलाकारहरू, विज्ञहरू, किसानहरू, आध्यात्मिक गुरुहरू, गैर सरकारी संस्थाहरू अनि नागरिकहरूले अभियानको समर्थनमा आवाज उठाइरहेका छन्, ताकि मानवजाति र माटोबीच रहेको सम्बन्धलाई पुनः स्थापित गर्न सकियोस्।

प्रकाशित: २२ जेष्ठ २०७९ १०:२७ आइतबार