समाज

निर्वाचनलाई प्रभावित बनाउने कार्यक्रममा सहभागी नहुनू: निर्वाचन आयोग

निर्वाचन आयोग नेपालले जिल्ला समन्वय समितिको निर्वाचनलाई प्रभावित बनाउने कार्यक्रममा सहभागी नहुन स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई अनुरोध गरेको छ। सो निर्वाचन सम्पन्न नभएसम्म आफ्नो कार्यक्षेत्र नछाड्न पनि जनप्रतिनिधिलाई आग्रह गरिएको छ।

आयोगले आज एक विज्ञप्ति जारी गर्दै जनप्रतिनिधिहरूलाई निर्वाचनलाई प्रभाव पार्ने गरी प्रशिक्षण, गोष्ठी आयोजना नगर्न र नगराउन सरकार, प्रदेश सरकार, राजनीतिक दललगायत सरोकारवालालाई आग्रह गरेको हो।

जिल्ला समन्वय समितिको निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ। हाल निर्वाचन सुरु भइसकेपछि कानुनमा उल्लिखित समय अवधिभित्र सम्पन्न गरिसक्नुपर्ने र बीचमा रोक्न नमिल्ने भएकाले निर्वाचन सम्पन्न नहुँदासम्मका लागि यस्ता कार्यक्रम नगर्न भनिएको हो।

गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि गाउँ कार्यपालिका तथा नगर कार्यपालिका सदस्य निर्वाचन निर्देशका, २०७८ को दफल (४) बमोजिम गाउँ कार्यपालिका सदस्य र नगर कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भइसकेको छ। सो पश्चात् हुने जिल्ला समन्वय समितिको निर्वाचन निर्देशिका, २०७८ को दफा (५) बमोजिमको अवधिभित्र निर्वाचन गर्न सबै मुख्य निर्वाचन अधिकृतहरूलाई निर्देशन गरिसकिएको आयोगले जनाएको छ।

प्रकाशित: २० जेष्ठ २०७९ १५:०२ शुक्रबार