समाज

लाखौँको अवैध सामानसहित ट्रक नियन्त्रणमा

सशस्त्र प्रहरी रौतहटले लाखौँको अवैध सामानसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ। रौतहटको बौद्धिमाई नगरपालिका बंकुलबाट सशस्त्र प्रहरीको टोलीले कबाड बोकेको ट्रकलाई शुक्रबार नियन्त्रणमा लिएको हो।

रौतहटबाट कबाड बोकी बारातर्फ जाँदै गरेको ट्रकलाई कागजपत्र सोधखोज गर्दा बिलबिजक नभएको ना २ ख ८४५९ नम्बरको ट्रकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। अवैध रुपमा रौतहटबाट बारातर्फ सामान लैजाँदै गरेको ट्रकलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरी सफल भएको हो।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट सरमुजवाका प्रमुखका सशस्त्र प्रहरी निरीक्षक विष्णु उप्रेतीको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले ट्रक नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको ट्रकमा करिब दश टन फलामको छड र अन्य कबाड सामग्री रहेको बुझिएको छ।

बरामद भएको ट्रकलाई सशस्त्र प्रहरीले आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ। लोड गरिएको अवैध सामानसहित ट्रकको मूल्य करिब २५ लाख भएको प्रहरीको अनुमान रहेको छ।

प्रकाशित: २० जेष्ठ २०७९ १४:२२ शुक्रबार