समाज

भक्तपुरका ससाना नानीहरुले राखे धानको बीउ

भक्तपुरको एउटा स्कुलका विद्यार्थीले शुक्रबार धानको बीउ राखेका छन्। भक्तपुर नगरपालिका वडा नं २ मिवाछें व्यासीस्थित एभरेष्ट इगलिश स्कुल मिवाछें व्यासीका विद्यार्थीले असारमा धान रोप्नका लागि आवश्यक धानको बीउ राखेका हुन्। उनीहरुले स्कुल नजिकैको खेतमा पुगेर बीउ हालेका थिए।

विद्यार्थीलाई सैद्धान्तिक मात्रै नभई व्यवहारिक ज्ञान दिन यस्तो कार्यक्रम प्रत्येक वर्ष गर्दै आएको स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले बताए। यसबाट उनीहरुले भविष्यमा यो काम नगरे पनि ज्ञान पाउने विश्वास उनले लिए।  

धानको बीउ रोप्नका लागि प्रत्येक वर्ष जस्तै स्कुलको कक्षा ४ मा अध्ययनरत एक सय ४७ जना विद्यार्थी खेत पुगेका थिए। खेतमा पुगेपछि उनीहरुलाई शिक्षिका कबिता पौडेलले बीउ राख्नका लागि आवश्यक सामानहरु देखाउँंदै यसको प्रयोगको बारेमा जानकारी दिइन्। साथै अर्की शिक्षिका सुनिता सुवेदी बीउ राख्ने तरिकाबारे जानकारी गराइन्। यसपछि विद्यार्थीले धानको बीउ राखेका थिए। यसअघि उनीहरुलाई बिहीबार नै त्यसबारे कक्षाकोठामा जानकारी दिएको स्कुलले जनाएको छ।  

यही विद्यार्थीले यही बीउको प्रयोग गरी धान रोप्ने छन्। स्कुल नजिकै त्यहाँं स्कुलकै करिव एक रोपनी क्षेत्रफलमा ती विद्यार्थीले असार १५ गते धान रोप्ने छन्। साथै उनीहरुले उक्त धान पनि काट्ने छन्।

प्रकाशित: २० जेष्ठ २०७९ १२:५७ शुक्रबार