समाज

'साउदी अरब सरकारको निर्णयले नै यस वर्षको हज यात्राका लागि शुल्क वृद्धि भएको हाे'

साउदी अरब सरकारले निर्धारण गरे अनुसारनै हज यात्रा गर्नका लागि शुल्क निर्धारण गरिएको नेपाल हज समितिले बताएको छ।

नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले साउदी अरब सरकारले निर्धारण गरे अनुसारनै मक्कामा हज यात्राका लागि शुल्क निर्धारण गरिएको प्रष्ट्याएका हुन्। उनले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी साउदी अरब सरकारको निर्णय अनुसारनै यस वर्षको हज यात्राका लागि शुल्क वृद्धि भएको पनि स्पष्ट पारे।

शुल्क वृद्धि गरेर समितिका पदाधिकारीहरुले अनियमितता गरेको चर्चा भईरहेका बेला अध्यक्ष मियाँले यस्तो जवाफ दिएका हुन्। उनले साउदी अरब सरकारले नै वृद्धि गरेर शुल्क निर्धारण गरेको र सोही अनुसार अघि बढ्दा हजयात्राका लागि शुल्क वृद्धि हुन पुगेको उल्लेख गरे। अध्यक्ष मियाँले यस वर्षको हजयात्रीहरुलाई आगामी असार १५ गते भित्र मक्का पुर्‍याई सक्ने गरी आवश्यक तयारी भईरहेको पनि बताए।

समितिले छनौट भएका हजयात्रीहरुलाई तोकिएको शुल्क यही जेष्ठ २३ गतेभित्र जम्मा गरी सक्न पनि सचेत गराएको छ। समितिका अध्यक्ष मियाँले त्यसका लागि जेष्ठ १६ गतेको गोरखापत्र दैनिकमा सार्वजनिक सूचना जारी गरिएको पनि बताए।

सरकारले विगत वर्षहरुमा झैं यस वर्ष पनि हजयात्राका लागि ४, ६३, ३९३ रुपैयाँ शुल्क रकम तोकेको छ। आर्थिक अवस्था कमजोर भएका इस्लाम धर्मावलम्वीहरुले हजयात्रा गर्न कठिनाई हुने भएकाले ५० प्रतिशत अनुदान उपलब्ध गराउन पनि पहल भईरहेको समितिले जनाएको छ।

प्रकाशित: २० जेष्ठ २०७९ १०:५२ शुक्रबार