समाज

छात्रा बलात्कार गरेको आरोपमा शिक्षक कारागार चलान

छात्रा बलात्कारको आरोपमा पक्राउ परेका सिन्धुली कमलामाई घर भएका निजी शिक्षालयमा कार्यरत एक जना शिक्षक पुर्पक्षका लागि कारागार चलान भएका छन्।  

इटहरीको ब्लुमिङ् लोटस इङ्लिस सेकेन्डरी स्कुलको २०७२ देखि दुई वर्षसम्म प्रिन्सिपल हुँदा छात्रा बलात्कार गरेको आरोपमा सिन्धुली कमलामाई वडा नंं. ७ घर भएका राज खड्कालाई जिल्ला अदालत सुनसरीको आदेश अनुसार पुर्पक्षका लागि कारागार चलान भएका हुन्। इटहरीको ब्लुमिङ् स्कुल छाडेर काठमाडौंमा शिक्षण गर्दै आएका खड्का छ वर्ष वित्दा पनि पक्राउ नपरेको युवतीले साताअघि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन्।

युवतीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेलगतै प्रहरीले ३६ वर्षीय खड्कालाई काठमाडौंबाट पक्राउ गरेर सोमबार अदालत सुनसरीमा बुझाएको थियो। सुनसरी जिल्ला अदालतका न्यायाधीश सुभाषबाबु पुरीको इजलासले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिइएको हो।

खड्काको बयान र थुनछेकपछि मुद्दामा थप अनुसन्धान गर्नुपर्ने भएकाले पुर्पक्षका लागि कारागार चलान गरिएको अदालतका श्रेस्तेदार मोहनबहादुर अधिकारीले जानकारी दिए। खड्कालाई सोमबार नै सुनसरी झुम्का कारागार चलान गरिएको छ।  

इटहरीको ब्लुमिङ् लोटसमा खड्काले २०७२ देखि दुई वर्षसम्म प्रिन्सिपल भएर काम गरेका थिए। उनले २०७४ साउन २६ गते धरानको जनहित गेस्ट हाउँसमा लगेर बलात्कार गरेको आरोप छ। त्यतिबेला १५ वर्षकी कक्षा ९ मा पढ्ने छात्रालाई होस्टेलमा बसेका बेला पनि पटकपटक बलात्कार गरेको आरोप छ।

घटनाको विषयमा पीडित युवतीले जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानमा २०७४ भदौ २ गते जाहेरी दिएकी थिइन्।

प्रकाशित: १६ जेष्ठ २०७९ १४:४२ सोमबार