समाज

पोखरा–जोमसोम रुटमा हरायो तारा एयरः जहाजको अत्तोपत्तो छैन

मौसम राम्रो हुँदा यतिबेला पोखरा विमानस्थल बिहान ६ बजे नै खुल्छ। जोमसोम विमानस्थल पनि ६ बजे नै खुलिसक्छ। त्यसपछि पोखरा–जोमसोम उडान सुरु हुन्छ। आइतबार पनि जहाजको ६ बजेदेखिकै उडान तालिका थियो। तर, जोमसोमको मौसममा खराबी आएकाले बिहान साढे ९ बजेमात्र विमानस्थल खुल्यो। त्यसपछि पोखराबाट उडान सुरु भयो।

पोखराबाट जोमसोमका लागि पहिलो उडान समिट एयरको थियो। समिटको पहिलो जहाज जोमसोम पुगेपछि समिटकै दोस्रो जहाज ९ बजेर ५२ मिनेटमा पोखराबाट उड्यो। त्यसपछिको पालो थियो तारा एयरको। ताराको जहाज पोखराबाट ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको थियो। ताराको जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। को–पाइटल उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिए।

तर, उडान भरेको १२ मिनेटपछि सम्पर्कविहीन भएको ताराको जहाज आइतबार बेलुकी अबेरसम्म पनि फेला परेको छैन। तारा एयरका अनुसार पोखराबाट जोमसोमका लागि आइतबार बिहान ९ बजेर ५५ मिनेटमा उडेको तारा एयरको ९एन एइटी, डिएचसी–६, ट्वीनअटर जहाज जोमसोम पुग्न नपाउँदै बीचैबाट सम्पर्कविहीन भएको हो। जहाजको अन्तिमपटक जोमसोम विमानस्थलको टावरसँग १० बजेर ७ मिनेट जाँदा घोरेपानीको आकाशबाट सम्पर्क भएको थियो, त्यसपछि जहाजबारे कतै पत्तो छैन। जहाजमा चालक दलका ३ जना सदस्यसहित १३ जना नेपाली, ४ जना भारतीय र २ जना जर्मन नागरिकगरी २२ जना रहेका छन्।

पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले बेलुकी अबेरसम्म जहाजबारे जानकारी नआएको बताए। ‘मौसम खराबी हुँदा बिहानै उड्नुपर्ने जहाजको ढिला गरी उडान सुरु भएको थियो। मौसम राम्रो छ भनेपछि मात्र उडान सुरु हुन्छ,’ उनले भने, ‘तर, बीचमा समस्या आएको अनुमान गर्न सकिन्छ।’ सम्पर्कविहीन भएको जहाजको खोजीका लागि सम्पूर्ण निकाय परिचालित भए पनि बेलुकीसम्म फेला परेको छैन।

पोखरा जोमसोम उडान–समय १८ मिनेट हो। जहाज जोमसोममा १० बजेर १३ मिनेटमा अवतरण गर्नुपर्ने थियो। सुवेदीका अनुसार पोखराले घोरेपानीसम्म जहाजलाई सम्पर्क गरेको थियो। पोखरा टावरले जोमसोम टावरलाई जहाज हस्तान्तरण गरेपछि लेतेको आकाशबाट एकपटक जोमसोम सम्पर्क गरेर जहाजले जोमसोम भ्याली छिरेको बताए पनि त्यसपछि सम्पर्कविहीन भएको हो। जहाज सम्पर्कविहीन भएपछि जोमसोम विमानस्थलले पोखरालाई जानकारी गराएको थियो।

जोमसोम टावरसँग हावाको गति सोधेलगत्तै सम्पर्कविहीन

जोमसोम विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर पुष्कल शर्माका अनुसार जहाज कमान्ड गरेका क्याप्टेन प्रभाकर घिमिरेसँग लेतेमाथिको आकाशबाट अन्तिमपटक कुरा भएको थियो। त्यो बेला घिमिरेले जोमसोम क्षेत्रको हावाको गतिको विवरण मागेका थिए।

‘ताराभन्दा अगाडि समिटको जहाज आइरहेको थियो। ताराका क्याप्टेन घिमिरेले मसँग जोमसोमको हावाको गति कति छ भनेर माग्नुभएको थियो,’ शर्माले भने, ‘शर्मालाई हावाको गतिबारे जानकारी दिएपछि म समिटको जहाजलाई अवतरण गराउनतिर लागें, त्यसपछि ताराको जहाजलाई सम्पर्क गर्न खोज्दा सम्पर्क नै भएन।’

जोमसोमको हावाको विवरण माग्दा ताराको जहाज १२ हजार ५ सय फिटको उचाइमा रहेको उनले बताए। जोमसोम विमानस्थल ९ हजार फिट उचाइमा छ। शर्माका अनुसार घिमिरेलाई जानकारी दिँदा जोमसोमको हावाको गति २५ नटिकल माइल प्रतिघण्टा (४६.३ किमि) थियो। ‘हावाको गति ठीक त होइन, तर जोमसोममा यो गतिको हावामा उडान र अवतरण हुन्छ,’ शर्माले भने। शर्माका अनुसार जोमसोममा ३० नटिकल माइल प्रतिघण्टा (५५.५६ किमि)को गतिमा हावा रहँदासम्म उडान र अवतरण गर्ने गरिएको छ। हवाई क्षेत्रका जानकारका अनुसार २० नटिकल माइलमाथिको हावाको गति राम्रो मानिँदैन। २० नटिकलमाथि उड्दा सामान्यतया केही रिस्क हुनसक्छ। तर, जोमसोममा ३० नटिकल माइलसम्म पनि उडान गर्ने गरिन्छ।  

ताराको आइतबारको उक्त उडान पहिलो थियो

पोखराबाट जोमसोम उडानको क्रममा सम्पर्कविहीन भएको तारा एयरलाइन्सको यो जहाजको आइतबारको पहिलो उडान थियो। पाँचवटा उडानतालिका रहेकोमा पहिलो उडान गर्दैगर्दा जहाज सम्पर्कविहीन भएको पोखरा विमानस्थलले बताएको छ।

ताराको यो जहाजको आइबार पोखरा–जोमसोम पाँचवटा उडान थिए। त्यसअघि समिट एयरका जहाजले दुईवटा उडान गरिसकेका थिए। समिटले दुईवटा जहाजमार्फत आइतबार १० उडान राखेको थियो भने ताराको पाँचवटा मात्र उडान थिए। पहिलो उडानमै ताराको जहाज सम्पर्कविहीन भएको विमानस्थलका सूचना अधिकारी सुवेदीले जानकारी दिए।

‘बिहानैको उडान समय थियो तर जोमसोम विमानस्थल ढिला गरी खुल्दा उडान–समय पछाडि धकेलियो,’ उनले भने, ‘ढिलागरी उडान सुरु हुँदा तोकिएका सबै उडान सम्भव थिएन किनकि ११ बजेपछि जोमसोममा हावाको गति बढिसकेको थियो।’

मौसम यकिन गरेपछि मात्र घिमिरेले जहाज उडाउँथे

सम्पर्कविहीन भएको तारा एयरको जहाजका क्याप्टेन प्रभाकर घिमिरेले मौसम ठीक रहेको यकिन गरेर मात्र आइतबारको उडान भरेका थिए। एक निजी हवाई कम्पनीका पोखरास्थित स्टेसन म्यानेजरका अनुसार बिग्रेको जोमसोमको मौसममा सुधार आएर समिटको पहिलो जहाज जोमसोम पुगेपछि मात्र समिटकै दोस्रो जहाजले र ताराको यो जहाजले उडान तयारी थालेका थिए। ‘समिटको जहाज जोमसोम पुगेपछि मौसम राम्रो भएको यकिन गरेर मात्र अरू उडान भएका हुन्,’ ती म्यानेजरले भने।

हराइरहेको ताराको जहाजका क्याप्टेन घिमिरे हवाई रुटको मौसमबारे निकै नै सचेत हुन्थे। ‘मौसमी सुरक्षामा निकै नै चनाखो हुने क्याप्टेन हुन्। अरू कुरामा उनले ‘कम्प्रोमाइज’ गरे पनि मौसमबारे सम्झौता गर्दैनथे, बरु बीचबाटै जहाज फिर्ता ल्याउँथे,’ उनले भने, ‘मौसम राम्रो छ भनेर यकिन गरेर मात्र उड्ने पाइलट हुन्। अरूजस्तो हेलचेक्रयाइँ उनले कहिल्यै गर्दैनथे र आइतबार पनि गरेका थिएनन्। तर, बीचउडानका क्रममा समस्या आएको अनुमान छ।’

जहाज अलमलिएको जस्तो आवाज सुनिएको थियोः स्थानीय

हराइरहेको तारा एयरको जहाज फेला परेको बारे विभिन्न अड्कलबाजी भइरहेको छ। मुस्ताङको थासाङ गाउँपालिका क्षेत्रमा जहाज हराएको अनुमान धेरैको छ। स्थानीयले पनि केही आशङ्का गरेका छन्। सुुरक्षाकर्मीले पनि त्यही क्षेत्रमा खोजी केन्द्रित गरेका छन्। मुस्ताङको थासाङ गाउँपालिका–२ लार्जुङको आकासमा जहाज अलमलमा परेको आशङ्का स्थानीयले गरेका छन्।

स्थानीय जनआदर्श अमरसिंह माविका शिक्षक वीरेन्द्र लामिछानेका अनुसार लार्जुङ लेते र टुकुचेबीचको ठाउँ हो। विद्यालयमा बिहानी प्रार्थना चलिरहेको बेला आकाशमा जहाजको आवाज सुनिएको लामिछानेले बताए। ‘यो नियमित उडानको बाटो थिएन। तर, जहाज रुमलिएको आवाज भने सुनेका हौं, जहाज भने देखेनौं,’ उनले भने, ‘जहाज आकाशमै रुमलिएकोजस्तो लागेपछि हामीले पनि नराम्रो संकेतको आशङ्का गरेका थियौं।’

शिक्षक लामिछानेका अनुसार मौसम राम्रो हुँदा जहाज यो रुटबाट प्रायः उड्दैनन्। तर, जब मौसम बिग्रन्छ, त्यसपछि जहाज यो रुटमा पनि देखिन्छन्, हिजोअस्ति पनि देखिएका थिए। ‘मौसम खराब हुँदा मात्र रुट बदलेका जहाजको आवाज सुनिन्छ,’ उनले भने, ‘मौसम राम्रो हुँदा कालीगण्डकी नदी माथिबाटै जहाज उड्छ।’ उनका अनुसार जहाज कालीगण्डकीको बायाँतर्फ रुमलिएकोजस्तो देखिएको थियो।

‘मौसम राम्रो हुँदा जहाजले कालीगण्डकीलाई दायाँ पारेर उड्छन्। मौसममा खराबी आउँदा बायाँ पारेको देखिन्छ। तर, आज भने आकाशमै जहाज रुमलिएको थियो,’ उनले भने। लार्जुङको भिर र खोंचसम्म जान पनि समस्या रहेको उनले सुनाए। उच्च हिमाली खोंच र अप्ठ्यारो ठाउँ भएकाले जान सहज नभएको उनले बताए।

जहाजको कुनै सूचना छैनः मुस्ताङ प्रजिअ

पोखराबाट जोमसोम जाने क्रममा बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको हवाई जहाजको खोजीमा अप्ठ्यारो अवस्था सिर्जना भएको छ। बेलुकी अबेरसम्म जहाजबारे कुनै जानकारी नआएको मुस्ताङ प्रशासनले बताएको छ। मौसम खराबी हुँदा हेलिकोप्टरबाट खोजी सम्भव नभएको र स्थलमार्गबाट खोज्न जानुपर्दा थप समस्या भएको मुस्ताङ प्रशासनले बताएको छ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार हवाई जहाजबारे कतै पनि आधिकारिक सूचना आएको छैन। अहिलेसम्म आएका जेजति जानकारी भए पनि त्यो सत्य नभएको उनले बताए। ‘अहिलेसम्म हवाई जहाजबारे कतै संकेत पाएका छैनौं। मौसम अनुकूल नहुँदा हवाई माध्यमबाट खोजी पनि रोकिएको छ,’ शर्माले भने, ‘स्थलमार्गबाट गएर खोज्दा कति सम्भव हुन्छ, त्यो प्रयास भइरहेको छ।’ 

शर्माका अनुसार सेना र निजी गरेर अहिले चारवटा हेलिकोप्टर मुस्ताङको थासाङ गाउँपालिकास्थित कोबाङमा रहे पनि बेलुकी दुईवटा हेलिकोप्टर (सेनाको र फिस्टेलको एकएकवटा) सदरमुकाम गएका छन् भने अरू पोखरा फर्केका छन्।

स्थलमार्गको टोली भने खोजीका लागि गए पनि फेला पार्ने सम्भावना कम रहेको उनले बताए। ‘अब हाम्रो खोजीको केन्द्र धवलागिरि हिमशृंखला क्षेत्रमा हुने छ,’ उनले भने, ‘स्थलमार्गबाट कहाँसम्म पुगिन्छ, त्यहाँसम्म खोज्ने हो।’ स्थलमार्गबाट गएको टोली पनि सहजठाउँसम्म मात्र जाने छ, त्यसपछि रोकिने छ किनकि हिउँले पनि अघि बढ्न समस्या रहेको उनले बताए।

थासाङ गाउँपालिका–२ का अध्यक्ष गौतम शेरचनका अनुसार घटनास्थल आशङ्का गरिएको मानापाथी हिमालको फेदीसम्म पुग्न कम्तिमा ५ घण्टा उकालो हिड्नुपर्छ। त्यहाँ मौसम पनि खराब छ। चार हजार ५ सय मिटर उचाइको क्षेत्रमा दुर्घटना भएको आशङ्का भए पनि यकिन नभएको उनले बताए। ‘गाउँका चारजना युवाहरू उकालो लागेका छन्। उनीहरू पनि गोठमा बस्नेगरी गएका छन्। यार्सागुम्बा टिप्न गएको समूह पनि ३५ सय मिटरमा रहेकाले खोजीमा मिसिने छ,’ शेरचनले भने, ‘तर, सहज छैन र यकिन पनि छैन। मौसम खराब छ। आइतबार बिहान पानी परेको थियो। दिउँसोदेखि खुलेको भए पनि हिमालतिर खुलेन।’

मानापाथी हिमालको फेदमा दुर्घटनास्थल आशङ्का गरे पनि यकिन नभएकाले खोजी गर्न पनि जान नसकेको उनले बताए। जहाज हराएको थाहा पाएपछि पोखरा विमानस्थलमा आफन्त भेला भएका थिए। आफन्त र साथी जहाजमा परेको थाहा पाएपछि त्यहाँ रुवाबासी चलेको थियो।

विमानमा सवार अन्य यात्रुहरू

इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, वसन्त लामा, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, भैभवी बन्देकरसहित तेस्रो मुलुकका नागरिक माइक ग्राट र युभी विलनर सवार छन्।

प्रकाशित: १६ जेष्ठ २०७९ ००:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App