समाज

सर्लाहीमा कुकुरले १६ जनालाई टोक्यो

फाइल तस्बिर।

सर्लाहीको हरिवनमा कुकुरले १६ जनालाई टोकेको छ। हरिवन नगरपालिका वडा नम्बर ८ मा १० जना र वडा नम्बर ११ मा ६ जनालाई छाडा कुकुरले टोकेको हो।

हरिवनमा छाडा कुकुरको बिगबिगी बढेको गुनासो बढेको समयमा दुई दिनमा धेरैलाई टोकेको हो। कुकुरले टोकेका मानिसमा साढे दुई वर्षका बच्चादेखि ५४ वर्षसम्मका रहेका छन्। कुकुरले टोकेका १६ जनामध्ये दुई जनालाई उपचारको लागि काठमाडौँ रिफर गरिएको हरिवनको सासापुर स्वास्थ्य चौकीका इन्चार्ज श्यामविनोद कुशवाहाले जानकारी गराएका छन्।

कुकुरले टोकेका अन्य बिरामीलाई भने नमुना अस्पताल हरिवन तथा प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमा पुगेर रेबिजविरुद्धको खोप लगाइएको छ। जथाभावी मानिस र चौपायालाई देख्ने बित्तिकै झम्टन खोज्ने र आक्रमण गर्ने कुकुरलाई स्थानीयबासीले मारिसकेका छन्।

प्रकाशित: १५ जेष्ठ २०७९ ११:५४ आइतबार

सर्लाही हरिवन नगरपालिका