समाज

निजगढ विमानस्थल नबनाउने निर्णयविरुद्ध बिरोध प्रदर्शन

बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउने सर्वोच्च अदालतको निर्णयविरुद्ध निजगढ वासीहरुले बिरोध प्रदर्शन गरेका छन्।

आइतबार माइतीघर मण्डलामा निजगढ एयरपोर्ट विकासका पक्षधरहरुले सर्वोच्च अदालतको निजगढ विमानस्थल नबनाउने निर्णयविरुद्ध बिरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनमा बोल्दै प्रदर्शनकारी विष्णु खड्काले सर्वोच्चले विकासको काम रोक्दा जनताहरुमा नैराश्यता पैदा भएको बताए।

उनले सर्वोच्च अदालतले राष्ट्रिय गौरवको योजनालाई निमोठ्ने काम गरेको भन्दै निर्णयलाई पुनरावलोकन गर्न माग गरे। उनले निर्णय पुनरावलोकन नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी पनि दिए। प्रदर्शनकारी खड्काले सर्वोच्चको फैसला दुर्भाग्यपूर्ण भएकोले सबै सांसदहरु एकजुट भएर विकासको योजना अघि बढाउनु पर्ने बताए।

प्रदर्शनकारीहरुले के विकास र समृद्धि अधिकार होइन र हे अदालत?, वातावरणको नाममा विकास रोक्न पाइँदैन, सर्वोच्च अदालतको दुर्भाग्यपूर्ण फैसला पुनः विचार गर लगायतका नारा लगाएर बिरोध प्रदर्शन गरेका थिए। सर्वोच्च अदालतले गत बिहीबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अर्को वैकल्पिक विमानस्थल चाहिने भए निजगढको विकल्प खोज्न आदेश दिएको थियो। 

प्रकाशित: १५ जेष्ठ २०७९ ११:०४ आइतबार

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल माइतीघर मण्डला