समाज

वानका पूर्वअध्यक्षको स्मृतिमा अक्षयकोष स्थापना

निजी रेडियोहरूको छाता संस्था ब्रोडकास्टिङ अफ नेपाल (वान) का पूर्वअध्यक्ष चन्द्र न्यौपानेको प्रथम स्मृति दिवसका अवसरमा शनिबार अक्षयकोष स्थापना गरिएको छ।

चन्द्र न्यौपाने मेमोरियल ट्रस्ट स्थापना गरेर सामाजिक काम गर्न अक्षयकोष स्थापना गरिएको हो। अक्षयकोषमा मृतक न्यौपानेका परिवारका तर्फबाट ५ लाख, दमक नगरपालिकाबाट ३ लाख र अन्य संघसंस्थाबाट गरी करिब ९ लाख रूपैयाँ जम्मा भइसकेको छ। अक्षय कोषमा जम्मा भएको रकमबाट प्राप्त ब्याजले हरेक वर्ष पत्रकारिता क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्ने विद्यार्र्थीलाई सहयोग गरिने ट्रस्टकी अध्यक्ष अनिता न्यौपानेले बताइन्।

अक्षयकोष मार्फत सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब, दलित तथा पिछडिएका समुदायका विद्यार्थीलाई पनि सहयोग गरिने छ। पत्रकार न्यौपानेले सञ्चार क्षेत्रमा पुर्‍याएको योगदान र उनको सम्झनानिम्ति अक्षयकोष स्थापना गर्नुले सकारात्मक सन्देश गएको सहभागीले बताएका थिए।

नेपाल विज्ञापन बोर्डका सदस्य र सप्तकोसी एफएम इटहरीका स्टेसन म्यानेजर न्यौपानेको कोरोना महामारीले मृत्यु भएको थियो। न्यौपानेसहित देशभर कोरोना महामारीबाट २६ जना पत्रकार र सञ्चार गृह सञ्चालकको मृत्यु भएको नेपाल पत्रकार महासंघले जनाएको छ।

प्रकाशित: १५ जेष्ठ २०७९ ०८:५६ आइतबार

वानका पूर्वअध्यक्ष प्रथम स्मृति दिवस