समाज

क्याप्टेन घिमिरेले जोमसोम टावरसँग हावाको गति सोधे लगत्तै सम्पर्कविहीन (अपडेट)

१२ हजार ५ फिटबाट जहाज सम्पर्कविहीन

जोमसोम विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर पुष्कल शर्माका अनुसार जहाज कमाण्ड गरेका क्याप्टेन प्रभाकर घिमिरेसँग लेतेमाथिको आकाशबाट अन्तिमपटक कुरा भएको थियो। त्यो बेला घिमिरेले जोमसोम क्षेत्रको हावाको गतीको विवरण मागेका थिए।  

‘तारा भन्दा अगाडि समिटको जहाज आइरहेको थियो। ताराका क्याप्टेन घिमिरेले म सँग जोमसोमको हावाको गति कति छ भनेर माग्नु भएको थियो,’ शर्माले भने, ‘शर्मालाई हावाको गतिबारे जानकारी दिएपछि म समिटको जहाजलाई अवतरण गराउनतिर लागे, त्यसपछि ताराको जहाजलाई सम्पर्क गर्न खोज्दा सम्पर्क नै भएन।’

जोमसोमको हावाको विवरण माग्दा ताराको जहाज १२ हजार ५ सय फिटको उचाईमा रहेको उनले बताए। जोमसोम विमानस्थल ९ हजार फिट उचाईमा छ। शर्माका अनुसार घिमिरेलाई जानकारी दिँदा जोमसोमको हावाको गति २५ नटिकल माइल प्रतिघण्टा (४६.३ किमि)को गतिमा थियो। ‘हावाको गति ठिक त होइन, तर, जोमसोममा यो गतिको हावामा उडान र अवतरण हुन्छ,’ शर्माले भने। शर्माका अनुसार जोमसोममा ३० नटिकल माइल प्रतिघण्टा (५५.५६ किमि)को गतिमा हावा रहँदासम्म उडान र अवतरण गर्ने गरिएको छ।  

प्रकाशित: १५ जेष्ठ २०७९ ०७:०१ आइतबार

तारा एयर