समाज

तारा एयरः तेश्रो उडान भर्दै गर्दा जहाज सम्पर्कविहीन, मौसम खराबीले खोजी प्रभावित (अपडेट)

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजको खोजीका लागि गएको हेलिकप्टर खराब मौसमका कारण बीचबाटै फर्केको छ। पोखरा–जोमसोम रुटमा पर्ने मुस्ताङको थासाङ गाउँपालिकाको लेतेमा अहिले बादल लागेको र पानी परेको छ। जसले गर्दा खोजिका लागि गएको हेलिकप्टर बीचबाटै फर्केको छ।  

पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार जहाजमा भारतीय ४, नेपाली १३ र विदेशी २ जना गरेर १९ जना यात्रु थिए। जहाज प्रभाकर घिमिरेले उडाएका थिए। को पाइटल उत्सव पोखरेल र एयर होस्टेज किस्मि थापा रहेको सुवेदीले जानकारी दिए।

पोखरा विमानस्थलबाट उडेको ९ एन एइटी कलसाइनको ट्वीनअटर जहाज सम्पर्कविहीन भएको हो। पोखराबाट ९ बजेर ५५ मिनेटमा जहाज उडेको थियो। पोखरा जोमसोम उडान समय १८ मिनेट हो। जहाज जोमसोममा १० बजेर १३ मिनेटमा अवतरण गर्नुपर्ने थियो। उनका अनुसार पोखराले घोरेपानीसम्म जहाजलाई सम्पर्क गरेको थियो।

पोखरा टावरले जोमसोम टावरलाई जहाज हस्तान्तरण गरेपछि लेतेको आकाशबाट एकपटक जोमसोम सम्पर्क गरेर जहाजले जोमसोम भ्याली छिरेको बताएपछि त्यसपछि सम्पर्कविहीन भएको हो।  जहाज सम्पर्क विहीन भएपछि जोमसोम विमानस्थलले पोखरालाई जानकारी गराएको थियो। ताराको आइबार यो तेश्रो उडान थियो। बिहानका २ वटा उडान पुरा गरेर तेश्रो उडानको क्रममा सम्पर्कविहीन भएको उनले बताए।  

जहाज मुस्ताङको थासाङ गाउँपालिकाको लेते क्षेत्रमा दुर्घटनामा परेको आशंका गरिएपछि अझै यकिन भएको छैन। मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रशाद शर्माले जहाज अहिलेपनि सम्पर्कविहीन भएको बताए।  

थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनका अनुसार लेते क्षेत्रको आकाशमा बाक्लो हुस्सु लागेको छ । त्यस क्षेत्रमा पानी पनि परेको छ। पानी परेको र हुस्सुले गर्दा कतै पनि देख्न नसकिने उनले बताए। जोमसोम विमानस्थलबाट जहाजको खोजिका लागि उडेको फिस्टेल एयरको हेलिकप्टर मौसम खराब भएपछि बीचबाटै जोमसोम फर्केको छ। 

प्रकाशित: १५ जेष्ठ २०७९ ०६:३६ आइतबार

तारा एयर