समाज

प्रभाकर घिमिरेको कमाण्डमा उडेको थियो जहाज (अपडेट)

जहाजमा २ विदेशी र १७ जना स्वदेशी यात्रु थिए

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ। पोखराबाट १९ जना यात्रु र तीनजना चालक दलका सदस्य बोकेर जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको हो। पोखरा विमानस्थलबाट उडेको ९ एन एइटी कलसाइनकोट्वीनअटर जहाज सम्पर्कविहीन भएको हो।

पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार जहाज प्रभाकर घिमिरेले उडाएका थिए । जहाजमा २ विदेशी र १७ जना स्वदेशी यात्रु थिए। तीनजना चालक दलका सदस्य थिए।  

उनका अनुसार जोमसोमका लागि विहान ९ बजेर ५५ मिनेटमा जहाज उडेको थियो। जहाज विहान १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो।

पोखरा–जोमसोम हवार्ई मार्गमा पर्ने घोरेपानी माथिको आकाशबाट जहाज सम्पर्कवहीन भएको हो । पोखरा टावरले जोमसोम टावरलाई जहाज हस्तान्तरण गरेको भएपनि बीचबाटै सम्पर्कविहीन भएको विमानस्थलका ती पदाधिकारीले बताए।  

मुस्ताङका डिएसपी रामकुमार दानीका अनुसार धौलागिरी हिमाल क्षेत्रमा जहाज दुर्घटनामा परेको आशंका गरिएको छ। जहाजको खोजीका लागि जोमसोमबाट हेलिकप्टर उडिसकेको दानीले जानकारी दिए।  

प्रकाशित: १५ जेष्ठ २०७९ ०५:५३ आइतबार

तारा एयर