समाज

धरानमा आमालाई बम्फोकले प्रहार गरेर छोराले आफ्नै घाँटी रेटे

सांकेतिक तस्बिर

धरान १४ विजयपुरमा आफ्नै छोराले आमालाई बक्फोकले काटेर गम्भीर घाइते बनाएका छन्। आमालाई प्रहार गरिसकेपछि छोराले आफ्नै घाँटी पनि रेटेका छन्।

ईलाका प्रहरी कार्यालय धरानका अनुसार केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा क्वार्टरमा बस्दै आएका ४२ वर्षीया शान्ता सुवेदीलाई उनका छोरा २५ वर्षीय सौगात सुवेदीले बम्फोकले प्रहार गरेका हुन्। घाइते आमाको टाउकोमा चोट रहेको छ। उनलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि न्युरो अस्पताल विराटनगर रिफर गरिएको पनि डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए।

यस्तै, घाइते छोराको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ। उनले आमालाई काटेपछि आफ्नै घाँटी पनि रेटेका छन्। प्रहरीका अनुसार छोरा डिप्रेसनको विरामी भएकोले औषधी सेवन गरिरहेका छन्। प्रहरी घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरिरहेको क्याम्पसका प्रमुख दिलकुमार लिम्बुले जानकारी दिए। 

उनका अनुसार क्याम्पसका लेखामा काम गर्ने कर्मचारीका छोरा हुन्। ‘प्रहरी आएर अनुसन्धान हुदैछ, छोरा साइकियाट्रिक विरामी थिए भन्ने छ, उपचार गरेर ल्याएको रहेछ,’ उनले भने। उनीहरु क्याम्पसको क्वार्टरमा बस्ने गरेका छन्।

प्रकाशित: ८ जेष्ठ २०७९ ०९:४८ आइतबार