समाज

पोखराकाे बजार क्षेत्रमा साईकल लेन

पोखराको बजार क्षेत्रमा बनाईएको साईकल लेनमा साईकल चलाउँदै सर्वसाधारण। तस्बिर: उमेश पुन/नागरिक

व्यस्त बजारमा साढे तीनफिटको लेन छ। लेन हरियो रंगको छ। हरियो आफैंमा प्रकृतिको रंग। हरियो रंगमा साईकल लेन। हरियो प्रकृतिको पर्याय। साईकल लेन प्रकृतिको प्रतिक मात्रै होईन, स्वास्थ्यको प्रतिक पनि हो। वातावरण संरक्षण गर्ने ध्येयसहित बनाइएको हो साईकल लेन।

‘सेभ फ्युल, बर्न फ्याट’ नारा नै छ। पेट्रोलियम पदार्थको खपत कम गर्न सके वातावरण संरक्षण हुन्छ भन्ने अभिप्राय साईकल लेनले बोकेको छ। ‘पेट्रोलियम पदार्थ जोगाउँदै वातावरण संरक्षण अभियान साईक्लिङ संघको अभियान हो,’ साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले भने, ‘साईकल प्रयोगले एकातिर स्वास्थ्यता अर्कोतिर पेट्रोलियम पदार्थ खपत कम गर्दै वातावरण संरक्षणमा हुनेछ।’ मुख्य बजार क्षेत्रको सडकबाटै साईकल लेन निर्माण शुरु गरिएको उनले सुनाए।  

लेनमा साईकलको चित्र समेत बनाईएको छ। चित्रले साईकलको लागि लेन हो भन्ने प्रष्टयाएको छ। तर बजार क्षेत्रमा साईकल लेनमै गरिने पार्किङले समस्या सिर्जना गरेको उनले बताए। ‘साईकल लेनमै पार्किङ गर्ने गरिएको छ। त्यसलाई विस्तारै विभिन्न संघसंस्था समन्वय गरेर पार्किङ गर्नुहुदैन् भन्ने सचेत गराउँदै आएका छौं,’ अध्यक्ष भण्डारीको भनाई थियो।  

पेट्रोलियम पदार्थको मूल्य आकासिदैं गएको छ। पेट्रोलियम पदाथको मूल्य बढेपनि दैनिक बजार क्षेत्रमा गुड्ने सवारी साधन कमी आएको छैन। सवारी चापले वातावरण प्रदुषण पनि बढाएको छ। ‘वातावरण जोगाउन र पेट्रोलियम पदार्थको उपभोग घटाउने अभियान हो,’ उनले भने, ‘पैसा विदेशिनबाट जोगाउन नियमित साईकल प्रयोग गरौं भन्ने ध्येय हाम्रो हो,’ संघका अध्यक्ष भण्डारी सुनाउँछन्। बढ्दो मूल्यकै कारण प्रत्यक्ष असर सर्वसाधारणको घर घरमा परेको छ। सबै उपभोग्य बस्तुको मूल्य बढेको छ। त्यही क्रममा यातायातमा पनि प्रभाव पर्ने उनले बताए।  

बजार क्षेत्रमा २।६ किलोमिटर लेन बनाईएको छ। साईकल लेन निर्माण समितिका संयोजक राजन गोंगजुले पोखरा महानगरपालिका र उपभोक्ता समितिको गरी ३५ लाख ३० हजार रुपैयाँको लागतमा लेन बनाइएको हो। ‘महानगरले ३० लाख रुपैयाँ र उपभोक्ता समितिको ५ लाख ३० हजार रुपैयाँको लागतमा बजार क्षेत्रमा लेन बनाइएको हो,’ उनले भने। उनले व्यस्त बजार क्षेत्रभित्र बढि साईकल चल्ने र भएकोले त्यही ठाउँमा बनाइएको बताए। महानगरले आर्थिक वर्ष सकिनै लाग्दा बजेट निकासा गरिदिएको हो।  

सडकमा थर्मोप्लाष्टिक पेन्ट लगाइएको छ। प्लाष्टिकलाई २ सय डिग्रीमा पगालेर पेन्टको रुपमा प्रयोग गरिएको उनले जानकारी दिए। उनका अनुसार पेन्ट लगाउन प्रतिमिटर ११ सय रुपैयाँको लागत परेको छ। साईकल लेन चिप्लेढुंगाबाट सभागृहचोक, सिजर्नाचोक हुदै जिरोकिलोमिटरसम्म बनाइएको छ। ‘बजार क्षेत्रभित्रका बासिन्दालाई साईकल लेनबारे बुझाउनै लागि बनाइएको हो,’ उनको भनाई थियो।

देशका तीन महानगरपालिकामा मात्रै साईकल लेन बनाईएको छ। ललितपुर र भरतपुर महानगरमा साईकल लेन बनाइएको छ। पोखरामा पनि बनाउन शुरु गरिएको छ। ‘आर्थिक पाटो व्यवस्थापन भए पोखराको सबैक्षेत्रमा साईकल लेन बनाउने योजना छ,’ उनको भनाई थियो। पहिलो चरणमा एकतर्फी मात्र साइकल लेन बनाइएकोमा बजेट आएपछि दुईतर्फी रुपमा लेन बनाइने उनले बताए।

प्रकाशित: ४ जेष्ठ २०७९ ०८:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App