समाज

आयोगले हेली नपठाउँदा उत्तरी गोरखाबाट मतपेटिका पालिकाको केन्द्र ल्याउन तीन दिन पैदल

तिब्बतसँग सिमाना जोडिएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको १७ वटा मतदान केन्द्रमा मतपेटिका संकलन गर्न समस्या हुने भएको छ। निर्वाचन आयोगले हेलिकप्टरबाट मतपेटिका ल्याउन चासो नदिएपछि तीन सम्म लगाएर मतपेटिका ल्याउनुपर्ने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए।

‘हामीले जिल्ला निर्वाचन व्यवस्थापन समिति मार्फत आयोगमा, जिल्ला कमाण्ड पोष्टले गृह मन्त्रालय मार्फत र फोन सम्पर्कमा पनि पटक–पटक निर्वाचन आयोगलाई अनुरोध गर्‍यौँ’ प्रजिअ आचार्यले भने ‘बोकाएरै ल्याउनुपर्ने भयो, अहिलेसम्म कुनै जानकारी आएको छैन।’

चुमनुब्री गाउँपालिका १ साम्दो गोरखाको सबैभन्दा टाढाको मतदान केन्द्र हो। गाउँपालिकाको कार्यालय सिर्दिबाससम्म त्यहाँबाट मतपेटिका ल्याउन तीन दिन समय लाग्ने पालिकाका सहायक निर्वाचन अधिकृत भिमसेन श्रेष्ठले बताए। ‘सबै मतपेटिका नआउँदा सम्म गणना सुरु गर्न मिल्दैन’ उनले भने।

छेकम्पारबाट डेढ दिन, सामागाउँबाट तीन दिन, ल्होबाट एकदेखि दुई दिन मत पेटिका ल्याउन समय लाग्छ। ‘साँघुरो पैदल बाटो छ, खच्चड हिड्ने बाटो मात्रै हो, मौसम कहिले पानी पर्ने कहिले घाम लाग्ने भएको छ’ प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले भने ‘ठाउँठाउँमा पहिरोमाथिबाट ढुङ्गा पनि खसिरहेकाले मतपेटिका जोगाएर ल्याउनै चुनौती छ।’

सुरक्षाकर्मी र कर्मचारीले मतपेटिका बोकेर ल्याउनुपरेको खण्डमा राती बास बस्नुपर्छ। मतपेटिकाको सुरक्षा चुनौती रहेको कारण देखाउँदै यस अघिको निर्वाचनमा हेलिकप्टरबाट मतपेटिका संकलन गरिएको थियो।

हेलिकप्टरबाट मत पेटिका ल्याउने विषय निर्वाचन आयोगले निर्णय गर्नुपर्ने आयोगका प्रबक्ता शालिग्राम शर्मा पौडेलले बताए। ‘वडाबाट पालिकाको केन्द्रसम्म सेवा लिन हिँडेर सकिने भएकाले मतपेटिका ढुवानी गर्न राज्यको पैसा खर्च नगर्ने आयोगले भनेको छ’ उनले भने ‘अहिले सम्म कुनै जिल्लाको पनि मत पेटिका हेलिकपटरबाट ल्याउने भन्ने छैन।’ गोरखामा जस्तै समस्या अन्य जिल्लामा पनि रहेको बताउँदै उनले हेलिकप्टरबाट ल्याउँदा सहज हुने तर खर्च धेरै हुने बताए।

चुमनुब्रीमा २१ वटा मात्रै मतदान छ। सबै केन्द्रको मतपेटिका बोकाएर ल्याउँदा तल्लो क्षेत्रका अन्य पालिकाको नतिजा आईसक्छ। गोरखामा दुई नगर सहित ९ गाउँपालिका रहेको छ। अन्य सबै पालिका सडक सञ्जालले जोडिएको भएपनि चुमनुब्री गाउँपालिका जोडिएको छैन। मतपेटिका र निर्वाचन सामग्री झोलाभरी भरिया लगाएर बोकेर लगेका कर्मचारीले फेरी मत खसालेको पेटिका बोकेर ल्याउनुपर्ने सास्ती थपिएको हो। मतदान भएको पेटिका बोकेर ल्याउँदा सुरक्षा चुनौती धेरै हुने चुमनुब्री गाउँपालिकाका सहायक निर्वाचन अधिकृत भिमसेन श्रेष्ठले बताए।

प्रकाशित: ३० वैशाख २०७९ १०:२४ शुक्रबार