समाज

मेयर उम्मेदवार सन्तोष मेहतामाथि आक्रमण

रौतहटको ईशनाथ नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार सन्तोष मेहतामाथि आक्रमण भएको छ। बिहेमा संलग्न हुन जान लागेको समयमा प्रहरीले फोन गरी बोलाएर नेपाली कांग्रेसका कार्यकर्तासँग आक्रमण गर्न लगाएको आरोप एमालेका मेयर पदका उम्मेदवार मेहताले लगाएका छन्।

बिहीबार पत्रकार सम्मेलन गरेर एमाले उम्मेदवार मेहताले बुधबार राति नेपाल प्रहरीका असई संजय कुर्मीले आफूलाई फोन गरेर बोलाएको र बोलाएपछि गाडीको साँचो खोसेको आरोप लगाएका छन्। गाडीको साँचो खोसेको केही बेरमै नेपाली कांग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार अन्जु झाले आफ्ना करिब दुई सय समर्थकसहित आफूमाथि आक्रमण गर्न लगाएको आरोप लगाएका छन्।

प्रहरीकै अगाडि आक्रमण गर्दा पनि मुक दर्शक बनेको आरोप मेहताको छ। ज्यान मार्ने उद्देश्यले नै आक्रमण गरेको आरोप मेहताको रहेको छ। असई कुर्मीले आफूलाई फोन गरेर बोलाएको रेकर्ड आफूसित रहेको बताएका छन्। घटनाबारे अनुसन्धान हुनुपर्ने र दोषीमाथि कारबाही हुनुपर्ने माग मेहताले गरेका छन्।

आक्रमणमा परी मेहताका केही मानिस घाइते भएका छन् भने मेहताको पनि हातमा चोट लागेको छ। घटनाको बारेमा जानकारी आएपछि प्रहरी घटनास्थल पुगेर सुरक्षित रुपमा उम्मेदवारलाई उद्धार गरी घरसम्म पुर्‍याएको दाबी प्रहरीको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी विनोद घिमिरेले राति मेहतालाई स्थानीय बासिन्दाले घेरेपछि प्रहरीले सुरक्षित रुपमा घर पठाएको बताएका छन्।

एसपी घिमिरेले प्रहरीमाथि लगाइएको आरोपको बारेमा छानबिन हुने र घटनाका बारेमा पनि छानबिन हुने बताएका छन्। यसैबीच नेकपा एमालेका स्थायी समिति सदस्य तथा पूर्व मन्त्री प्रभु साहले रौतहट जिल्लामा नेकपा एमालेसँग चुनाव हार्ने डरले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा संलग्न पार्टीहरु एमाले नेता तथा उम्मेदवारमाथि आक्रमण गर्न थालेको आरोप लगाएका छन्। 

प्रकाशित: २९ वैशाख २०७९ १२:५१ बिहीबार

रौतहटको ईशनाथ नगरपालिका नेकपा एमाले नेपाली कांग्रेस